२० वर्ष पहिलेसम्म गाईवस्तु र चराचुरूङगीलाई पानी खुवाउन संरक्षण गरिएको रूपन्देहीको गजेडी (दानापुर) ताल अहिले पर्यटक लोभ्याउने ठाउँ बनेको छ ।
कञ्चन गाउँपालिका वडा नं. १ (साविक गजेडी गाउँपालिका) मा रहेको दानापुर ताललाई समयमाई सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको छ ।
२०४१ सालमा गुल्मीबाट बसाईसरी दानापुरमा आएका नेत्र बहादुर श्रीस स्थानीयको प्रयासबाट ताललाई पर्यटकले हेर्ने अवस्थामा पुर्याउन सकिएको बताउँछन् ।
समयमाई सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षसमेत रहेका श्रीसले काँडे लहरा र अजम्बरीले ढाकिएको झाडीको बिचमा रहेको सानो पोखरी अहिले १९ हेक्टर क्षेत्रफलको तालको रुपमा विकास होला भनेर कल्पना पनि गरेका थिएनन्।
‘बाटोदेखि दक्षिणतर्फ अहिले डुंगा चल्ने स्थानमा सानो पोखरी थियो गाईवस्तु र चराचुरुङगीहरुले पानी खान्थे, हामी माछा मार्न जान्थ्यौं, अहिले संरक्षण गर्दै जाँदा रुपन्देहीका तालहरूमध्ये धेरै पर्यटक भित्रिने पहिलो ताल बनेको छ,’ उनले भने ।
तालको महत्व के छ भन्ने पनि थाहा नहुँदै २०४३ सालतिर गजेडी गाविसले स्थानीय जयबहादुर गुरूङलाई तालमा माछा मार्न ठेक्का दिने गर्थ्यो। गुरूङले स्थानीय रैथाने माछासँगै आयातित माछाका भुराहरु र हाँस पाल्न थालेपछि आफूहरु पनि तालको संरक्षणमा जुट्न थालेको श्रीस बताउँछन्।
ताल वरपरका खेतहरूमा डिल उठाउँदै जाँदा तालको जग्गा अतिक्रमण हुन सक्ने भन्दै संरक्षणमा जुटे पनि जिल्ला वन कार्यालय रूपन्देहीले समयमायी सामुदायिक वनको मातहतमा राखी ताललाई दर्ता गरेपछि बल्ल तालको संरक्षणको योजना बनेको देखिन्छ ।
जंगलको बीचमा रहेको समयमायी मन्दिरको नामबाट सामुदायिक वन गठन गरेर तालको संरक्षणमा स्थानीय लागेका छन्। सिमसार क्षेत्रमा पर्ने यो ताल अहिले सिमसार क्षेत्र मात्र नभई डुंगा सयर र बनभोज स्थलको रुपमा पनि प्रख्यात छ।
२०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट ताल वरिपरी बाटो बनाएपछि शुरु भएको भौतिक निर्माणको क्रम अहिले पनि जारी छ ।
ताल परिसरमा टहरोसहितका २० वटा पिकनिक सेड निर्माण गरिएको छ भने खुल्ला स्थानमा झण्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान छुट्टयाईएको छ। सामुदायिक वनका अध्यक्ष मीन बहादुर थापाले तालको विस्तृत गुरुयोजना नबन्दा यसको विकासलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा रहेको बताउँछन्।
लामो समयदेखि तालको संरक्षणमा जुटेको स्थानीय समुदायको आयआर्जन र जीवनस्तरसँग जोडेर ताललाई आर्थिक उपार्जनको माध्यम बनाउने आफूको योजना रहे पनि यसले सिमसारमा पाईने जैविक वस्तुहरु नष्ट हुन्छन् कि भन्ने चिन्ता रहेको उनीहरूले बताए।
दानापुर ताल पानी भरिएको पोखरी मात्रै नभई पर्यावरणीय हिसावले निकै महत्वपूर्ण रहेकोले कैयौ प्रजातिका चराहरुको यहाँ बसोबास छ।
विभिन्न प्रजातीका रैथाने माछा, हाँस, चरा तथा अन्य जलचरहरु पाईने तालमा मानवीय गतिविधि बढ्दै जाँदा लोप हुने खतरा छ। सामुदायिक वनका पूर्व उपाध्यक्ष श्रीस माछा मार्न र पाल्न ताललाई ठेक्का दिन थालेपछि रैथाने सौरा जातको माछा लोप भएको बताउँछन्।
‘भोटी जस्तै देखिने झण्डै डेढ दुई किलोसम्मका सौरा माछा पाईन्थ्यो, तर ६/७ वर्षदेखि त्यो माछा देखिन छोडेको छ,’ श्रीसले भने।
विभिन्न चराचुरुङगीको लागि पनि बासस्थान र आहारको लागि उत्तम मानिने यो तालमा मालेहाँस, पानी हाँस, सारस, बकुल्ला, बन कुखुरा लगायतका कैयौं दुर्लभ चराहरु समेत पाइने गर्छन्।
त्यस्तै धवई, चेलवा, गाईसिद्र, पाते सिद्र, ढेव्री, गिराई भोटी, पडेनी, अन्धा बाम, चुच्चे बाम, झिँगे लगायतका एकदर्जन बढी रैथाने माछा पाईन्छन्। त्यो सँगै तालको ठेकेदारले कमन, रहुँ, सिल्भर, बिगहेड, नैनीलगायतका विकासे माछा समेत पाल्ने गरेका छन् ।
स्थानीय लिलामणि ढकालले गत बैशाख १२ गते पाँच वर्षको लागि २८ लाख रूपैयामा तालमा माछा पाल्ने ठेक्का लिएका छन्। सामुदायिक वन उपभोक्ता समितिले तालमा ल्याईएको आठ वटा फाईबरका डुंगा चलाउन, पिकनिक सेड र पार्किङको लागि पनि स्थानीय चन्द्र बहादुर तरामुलाई २० लाख ७७ हजार रूपैयामा पाँच वर्षको लागि ठेक्का दिएको छ।
माछा पाल्न र डुंगा चलाउन दिएको ठेक्का वापत आउने वार्षिक करिब ९ लाख रूपैयाबाट तालको संरक्षण, पिकनिक सेड निर्माण, वन हेरालु लगायतमा खर्च हुँदै आएको वन उपभोक्ता समितिका अध्यक्ष थापाले जानकारी दिए।
विभिन्न माध्यमबाट प्रचारप्रसार हुन थालेपछि गत वर्ष राष्ट्रपति चुरे संरक्षण समिति मार्फत नेपाली सेनाले २ करोड खर्चेर उत्तरतर्फको ५ दशमलव ५ हेक्टर सीमसार क्षेत्र सरसफाई गरी फराकिलो बनाएको थापाले बताए।
ताललाई सिमसार क्षेत्र की नौका विहार क्षेत्र बनाउने भन्ने चर्चा चल्न थालेपछि समितिले उत्तर तर्फको भागलाई सिमसार र दक्षिणतर्फको भागलाई नौका विहार क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको छ।
अध्यक्ष थापाले यस विषयमा अझै गहन छलफल भईनसके पनि दक्षिण तर्फको १३ दशमलव ५ हेक्टर क्षेत्रमा डुंगा सयर गराउन सके तालको आम्दानी बढ्ने बताउँछन्।
समयमायी सामुदायिक वन उपभोक्ता समितिका ४ सय ७५ घरधुरी सदस्य तालको पनि सदस्य छन्। तालमा पर्यटकहरुको आगमन बढ्न थालेपछि साविक गजेडी गाविसले छुट्याएको साढे दुई लाख रूपैयाबाट १० घरमा होमस्टे सञ्चालन भएको छ ।
जंगलको विचमा रहेको सिमसार क्षेत्र भएकोले वर्षा याममा खासै पर्यटक नगए पनि असोजदेखि फागुन महिनासम्म भने दैनिक पर्यटकहरु पुग्ने गर्छन्।
विभिन्न चाडपर्व तथा उत्सवहरुमा हुने पिकनिक, वातावरण विषयका विद्यार्थी, प्रकृतिप्रेमी तथा चरा एवं विभिन्न जिवहरुको अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरु जाने क्रम पनि पछिल्लो समय बढ्दै गएको छ।
अध्यक्ष थापाले तालमा पुग्ने पर्यटकहरुको एकिन तथ्यांक नभए पनि वार्षिक २० हजार भन्दा बढीले तालको अवलोकन गर्ने बताउँछन्।
चरिचरण र गाईवस्तुलाई खुवाउने पानीको लागि स्थानीयवाशीको संरक्षण गरिएको ताल पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहँदा पनि सरकारी तहबाट भने खासै सहयोग नभएको समितिको गुनासो छ।
यता कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्री भने वन उपभोक्ता समितिलाई गाउँपालिकामा ताल दर्ता गर्न आउन आग्रह गरे पनि वेवास्ता गरेको बताउँछन्।
क्षेत्रीले ताललाई गाउँपालिकाको मातहतमा ल्याई पाँच नं. प्रदेशकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफूहरुको योजना रहेको बताए।
समयमाई सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको यो क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ।
यसै साता तालको अवलोकन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले दानापुर ताललाई सिमसार क्षेत्रकै रुपमा विकास गर्न आग्रह गरे।
सिमसार क्षेत्रभित्र मानवीय गतिविधि बढ्दै जाँदा त्यहाँ रहेका जलचर र जैविक वस्तुहरु नष्ट हुने भएकोले यसलाई कुन अवधारणामा विकास गर्ने भन्ने बारे स्थानीयलाई स्पष्ट हुन आग्रह समेत गरे।