राजधानीको कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा मैयुङ, टेम्के, साल्पा, सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग शुभारम्भ गरिएको छ । पूर्वी नेपालका खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ‘मुन्दुम पदमार्ग’ एक्सप्लोर गरिएको थियो ।
केन्द्रको आयोजनामा राजधानीमा बिहिबार आयोजित कार्यक्रममा मुन्दुम टे«ेलको नक्शा विमोचन गरेसँगै पदमार्ग शुभारम्भ गरिएको हो ।
कार्यक्रममा पदमार्गको बृत्तचित्र र फोटा प्रदर्शन गरिएको थियो । नक्शा प्रकाशनमा नेपाल पर्यटन बोर्डले केन्द्रलाई सहयोग गरेको छ ।
कार्यक्रममा भोजपुरे सभासद सुदन किराती, बोर्डका निर्देशक हिक्मत सिंह ऐर, टानका महासचिव आङपेम्बा शेर्पा, पर्यटनविज्ञ बच्चुनारायण श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँले, हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य र केन्द्रका अध्यक्ष रमेश राइले संयुक्त रुपमा नक्शा विमोचन गरेका हुन् ।
यो नयाँ पदमार्ग भोजपुरकोे चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटे, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । जुन बाटो गयो त्यही बाटो फर्किंदाा जम्मा ९ दिन पदयात्रा हुन्छ । फर्कने बेला मैयुङबाट सुन्तले हुँदै भोजपुर बजार पुगिन्छ ।
पदमार्गका चखेवा भञ्ज्याङ, धोत्रे र साल्पा भञ्ज्याङमा सामान्य खाना र बास सुविधा छ । त्यसैले हालका लागि यो क्षेत्रमा क्याम्पिङ टे«क गर्नु पर्ने देखिन्छ । पदयात्रा सुरु गरेर अघि बढ्दा बास बस्नका लागि चखेवा भञ्ज्याङ, धोत्रे भञ्ज्याङ, सातदोबाटे, रावाधाप, साल्पा भञ्ज्याङ उपयुक्त ठाउँ हुन् । त्यस्तै फर्कने बेला हयाकुले, मैयुङ डाँडा र भोजपुर बजारमा बास बस्नु पर्छ ।
पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर)देखि सगरमाथा, मकालु, कुम्भकर्ण हुँदै कञ्चनजंघा समेत हिमालको लामो लर्कन देखिन्छ । पदमार्गको क्लाईमेक्स विन्दु सिलिचुङ (४,१५३ मिटर) बाट त यी हिमाल आँखैमा टाँसिन्छन् ।
साल्पा भञ्ज्याङबाट ४ घन्टा उकालो चढे सिलिचुङ पुगिन्छ । पदमार्गमा दिनको सामान्यतः ६ देखि ८ घन्टा हिँड्नु पर्छ ।
किरात राई समुदायको बस्ती भएको ठाउँमा पदमार्ग बनाइएको हो । र, किरातीहरुको जीवन मुन्दुमद्धारा सञ्चालित हुन्छ । त्यसैले यसको नाउँ मुन्दुम पदमार्ग नामाकरण गरिएको केन्द्रका उपाध्यक्ष इन्सु राईले बताए ।
मुन्दुम पदमार्गमा यात्रा गर्न चाहनेहरुलाई केन्द्रले आबश्यक सहयोग गर्ने अध्यक्ष राईले जानकारी दिएका छन् ।
यो पनि हेर्नुहोस्