पर्यटन व्यवसायभित्र अराजकता मौलाएको पयर्टन क्षेत्रका विज्ञ र अगुवाले बताएका छन्।
नेपाल मगर पर्यटन समाजले शनिबार राजाधानीमा अयोजना गरेको ‘दिगो पर्यटन र यसका चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पछिल्लो समय पर्यटन व्यवसायमा विद्यमान अराजकता र अनियमितताको अन्त्य गर्दै अघि बढ्नु पर्ने बताएका छन्।
कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले व्यवसायका आन्तरिक कमजोरी सुधार्न व्यवसायी तयार हुनुपर्ने भन्दै पर्यटनको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्।
उनले नेपालको पर्यटन विकासमा सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने स्पष्ट पारिन्।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सूर्य थापाले कमजोरी गर्नेलाई कारबाहीको दायरामा ल्याएर सुधार गर्नुपर्ने बताए।
उनले पर्यटकसँग बुढानिलकण्ठ घुमाउने भनेर पैसा लिने र बाइसधाराको बुढानिलकण्ठ देखाएर फर्काउने गरेको समेत पाइएको भन्दै त्यस्ता व्यवसायीलाई कारबाही गर्नुको विकल्प नभएको बताए।
कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले पर्यटन व्यसायमा अराजकता रहेको स्वीकार गरे। उनले व्यवसायीमा संयमताको जरुरी रहेकोमा जोड दिए। अध्यक्ष दाहालले नेपालमा आउने पर्यटकहरुलाई राम्रो हिसाबले हाम्रा सम्पदा समेत देखाउन नसकिएको बताए।
कार्यक्रममा नेपाल मगर पर्यटन समाजका प्रथम उपाध्याक्ष राजकुमार थापा मगरले नेपाल गाउँले भरिएको देश हुनाले गाउँ विकासको लागि पर्यटकीय गतिविधि गाउँ केन्द्रीत गर्न लागेको जानकारी दिए। उनले सबै खाले पर्यटनसँग सम्बन्धित संस्थाले उठाएका माग र दिएका सुझाव कार्यान्वयन हुनुपर्ने भन्दै दिगो पर्यटनको विकासका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा अन्य सहभागीले नेपालको पर्यटन व्यवसायमा पर्यटन व्यवसायीकै अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। केहीले पर्यटन प्रद्र्धनका नाममा खानपिनमा रमाउने खालकामात्रै व्यवसायी रहेको आरोप लगाए। उनीहरुले व्यवसायलाई अनुशाशित र मर्यादित बनाउनका लागि व्यवसायी आफैँ जिम्मेवार बन्न नसकेको बताए।