१२ वैशाख २०७२ को भुइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा प्रचार गर्ने उद्धेश्यले ०७२ सालको गाइजात्रादेखि बर्सेनी ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ हुँदै आएको छ । यसको चौंथो संस्करण साउन २६ गते शनिबार हुँदैछ ।
बिहान काष्ठमण्डपबाट सुरु हुने साइकल यात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मती हुँदै खोकनासम्म पुग्नेछ । यो रुटको दुरी करिब २० किमि हुनेछ ।
पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र ‘खोकना पुनःनिर्माण तथा पुनःस्थापना समिति’को संयुक्त आयोजनामा हुनेछ ।
भुइँचालोबाट ध्वस्त तीन वटा सम्पदा (काष्ठमण्डप, बुङ्मती र खोकना)लाई साइक्लिङका माध्यमबाट जोडेर पुनःनिर्माणमा हातेमालो गर्ने उद्देश्यले ‘राइड काष्ठमण्डप टु खोकना’ सुरु गरिएको थियो । गाइजात्राको छेकोमा हरेक वर्ष साइकल यात्रा गरिन्छ ।
यसपालीको चौंथो संस्करणमा करिब दुई सय जना साइकले सहभागी हुने आशा गरिएको छ । साइकल ¥यालीमा सहभागी हुन आयोजकलाई ५ सय रुपैयाँ तिर्नु पर्छ । त्यो रकमले टिर्शट र लन्च सुविधा पाइनेछ कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिएका छन् ।
साइक्लिङ अभियान सुरु भएपछि खोकना र बुङमती क्षेत्रमा साइक्लिङ गर्ने स्वदेशी तथा विदेशी बढ्दै गएको अनुभव छ समितिका अध्यक्ष श्याम महर्जनसँग । ‘हामी भुइँचालोबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जुटेका छौं’, महर्जन भन्छन्, ‘पर्यटन प्रवद्र्धन गर्न हामी खोकनामा होमस्टे गराउने योजनामा छौं ।’
राइड काष्ठमण्डप टु खोकनाको प्राविधिक टोलीमा प्रख्यात साइक्लिष्टहरु रञ्जन राजभण्डारी, देवेन्द्र बस्न्यात, सुदिप पौडेल, गोपाल श्रेष्ठ लगायत छन् ।
यो अभियानको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो भने सहयोगीहरुमा नेपाल माउन्टेन बाइक एण्ड टुर्स, रैका टुर्स एण्ड टे«क्स, हिमालयन म्याप हाउस लगायत छन् ।
साइक्लिष्टको सम्मान
‘राइड काष्ठमण्डप टु खोकना’को चौंथो संस्करणका अबसरमा शनिबार खोकनामा दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मान गरिँदैछ । नेपालमा साइक्लिङ पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउँदै आएका सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई खोकनामा सम्मान गरिनेछ । उनीहरुलाई सम्मानपत्र र जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।