चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि शनिबार ‘राइड चन्द्रागिरि’ साइक्लिङ हुने भएको छ।
चन्द्रागिरि पर्यटन विकास समाजको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा हुने साइकल र्याली शनिबार बिहान नैकाप फूटबल ग्राउण्डबाट सुरु भएर नागढुंगा, थानकोट, केवलकार वेस क्याम्प, अरविन्द योग आश्रम, मातातिर्थ, बौंथली, मच्छेगाउँ, विष्णुदेवी, नयाँ नैकाप हुँदै नैकाप फूटबल ग्राउण्डमा पुगेर टुँगिनेछ।
साइक्लिङ रूट २१ किमि हुने आयोजकले जानकारी दिएको छ।
साइकल र्यालीमा ३०० जना साइकले सहभागी हुँदैछन्। र्यालीमा सहभागी हुन प्रति साइकले १५० रुपैयाँ प्रवेश शुल्क उठाइनेछ। यसबाट उनीहरुलाई ब्रेकफास्ट, टिर्शट, मिनरल वाटर र खाना सुविधा दिइने आयोजकले जानकारी दिएको छ।
यात्रामा दुई वटा एम्बुलेन्स तयारी अबस्थामा रहनेछन् भने यात्राको नेतृत्व प्रोफेशनल एवम् चर्चित साइक्लिष्टहरुले गर्नेछन् ।
यात्रामा नेवारी साँस्कृतिक प्रस्तुतिसमेत हुनेछ ।
यस्तो इभेन्टले बृहत्तर चन्द्रागिरि नगरपालिका क्षेत्रको प्रचारमा योगदान पुग्ने चन्द्रागिरि पर्यटन विकास समाजका महासचिव मनराजा खत्रीले बताए।
‘हामीले समग्र नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न २०७४ मा चन्द्रागिरि पर्यटन विकास समाज स्थापना गरेका हौं, उनले भने, ‘चन्द्रागिरि मेरो पर्यटन नगरी’ नाराका साथ हामी चन्द्रागिरि क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान, प्रवद्र्धन, र विकासमा क्रियाशिल छौं।’
समाजले चाँडै नगरक्षेत्रको पर्यटकीय नक्शा, गाइड बुक, युट्युव भिडियो, पोष्टर निर्माण गर्नुका साथै होर्डिङ बोर्ड समेत राख्ने भएको छ।
नगर क्षेत्रमा पर्यटकीय सुविधाका होटल तथा रेष्टुँरा खोल्न स्थानीयलाई प्रोत्साहित समेत गरिने समाजले जनाएको छ। ‘हामी लोकल गाइड समेत उत्पादन गर्नेछौं । प्राचीन गाउँमा होमस्टे सञ्चालन गर्न र चन्द्रागिरि क्षेत्रमै पर्यटन विश्वविद्यालय स्थापना गर्न पहल गरिरहेका छौं,’ खत्रिले भने।
राइड चन्द्रागिरि साइक्लिङ इभेन्टलाई वार्षिक कार्यक्रमका रुपमा सञ्चालन गर्ने आयोजकले दाबी गरेको छ।
कार्यक्रम भोलि बिहान ७ बजे नैकाप फुटबल मैदानबाट सुरू हुनेछ।