म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेकका होमस्टे र होटल सञ्चालकको क्षमता बढाउन असोज २० देखि एक साता म्याग्दीको काफलडाँडामा होमस्टे व्यवस्थापन तालिम हुने भएको छ।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा स्थानीय करबाकेली बाबा संरक्षण समिति र करबाकेली पर्यटन व्यवस्थापन समितिले तालिम आयोजना गरेका हुन् ।
नाथम कलेज रविभवन, काठमाडौंको विज्ञ समूहले गाउँलेलाई होमस्टे व्यवस्थापन, खाना बनाउने, सरसफाई, अतिथि सत्कार लगायत आधारभूत तालिम दिनेछ । त्यसका लागि सबै तयारी पुरा भैसकेको नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्रीले जानकारी दिए । तालिममा म्याग्दीका राम्चे, रिमा, फूलबारी र काफल डाँडा तथा पर्वतको कुवापानी र लोप्रे गाउँका ३० जना सहभागी हुने समितिका सल्लाहकार चामबहादुर पुनले बताए ।
कन्सेप्ट नेपाल, काठमाडौंको प्राविधिक सहयोगमा गत बैशाख पहिलो साता करबाकेली पदमार्ग एक्सप्लोर गरिएको थियो । साथै यो पदमार्गको नक्शा, वृत्तचित्र, भिडियो, वेवसाइट र क्यालेन्डर प्रकाशन भैसकेको छ । कास्कीको नयाँपुल हुँदै म्याग्दीको पुनहिल भएर फूलबारीबाट बेनी झर्ने पदमार्ग एक्सप्लोर भएसँगै पर्यटक बढ्दै गएको करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुन बताउँछन् ।
म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी भ्रमण वर्ष २०७५ मनाइरहेको सन्दर्भमा करबाकेली इको टे«क पर्यटनमा नयाँ प्रोडक्टका रुपमा स्थापित हुँदैछ ।