पाल्पाको रानीमहल क्षेत्रलाई थप आकर्षक बनाउन इकोपार्क निर्माण गरिने भएको छ। पुरातात्विक महत्वको रानीमहलको स्वरूपलाई वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो।
नेपालको ताज महल भनेर चिनिने रानीमहलमा ईको पार्क बनाउन प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेर नै प्रदेश सरकारले चासो बढाएको बताए ।
यसै वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाईएको मन्त्री गिरीले बताए। यस वर्ष ईको पार्क निर्माण गरिने र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा यसलाई थप प्राथमिकतामा राखि प्रदेशमा लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य बनाउने तयारी रहेको मन्त्री गिरीले बताए।
रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधार बारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने, प्रदेश सांसदहरु चेतनारायण आचार्य, बीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल तथा स्याङ्जाका प्रदेशसांसद र स्थानीय जनप्रतिनिधिहरुको टोलीले सम्भावनाका बारेमा स्थलगत अध्यय्न समेत गराएको छ ।
तत्कालको लागि रानीमहल दरबारसम्म पुग्ने सडकलाई विस्तार र व्यवस्थित गर्न जरूरि देखिएको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए ।
पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दुरीमा रहेको रानीमहल पुग्ने ८ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने ५ किलोमिटर पिच हुन बाँकी छ। त्यस्तै कालीगण्डकी कोरिडोरतर्फको ७ सय मिटर दुरिको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ।
यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पुरा भएको छैन। चट्टानलाई फुटाएर बाटो खुलेपछि र पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक पुग्न सहज हुने छ ।
तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर रानीमहल दरबार बनाएको इतिहाँस छ । सोहि अनुरुप यो दरबार रानीमहल दरबारको नामले परिचित रहेको हो ।
दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा समेत रहेका छन्।
५६ फिट चौडाई, १ सय १२ फिट उचाई भएको चारतले भवन १९४९ बाट निर्माण शुरु गरी १९५४ मा सम्पन्न गरेका थिए ।
महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुनर्निर्माण गरेको थियो ।
पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । साविकको बौघागुम्बा गाविस वडा नं २ मा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका नामले चिनिन्छ।
कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि उभिएको दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाईनमा बनाईएको हो। वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाईएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ।
प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरुलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको छ ।
१९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए ।
खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलायन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानीयको गुनासो छ ।
पुरातत्व विभागले १० बर्षको लागि रानीमहल दरवार क्षेत्रको प्रयोग र संरक्षणको लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेपछि भने यसको संरक्षणप्रति नगरपालिकाले पनि पहल थालेको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयले देशका एक सय गन्तव्य मध्ये रानीमहल दरवार क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रुपमा सूचिकृत गरेको छ।