वीरगन्ज देशकै आर्थिक नगरी मात्रै नभएर मुख्य प्रवेशद्वार पनि हो। वीरगन्ज-रक्सौल मितेरी पुल कटेपछि वीरगञ्ज आउनुअघि मुख्य सडकमा शंकराचार्य गेट छ।
सोमबार दिउँसो भारतको आगराबाट आएका रिजवान र साहिलको टोली त्यसक्षेत्रमा सेल्फी लिन व्यस्त थिए। केही सयम यता भारतबाट नेपाल प्रवेश गर्नेका लागि वीरगन्जको शंकराचार्यद्धार सेल्फीस्पट बनेको छ।
मधेस आन्दोलनको समयमा नाकाबन्दीद्धारको रूपमा बदनाम भएको शंकराचार्यद्धार अहिले सेल्फी साइटको रुपमा परिणत भएको हो।
वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गरेपछि केही समयदेखि यो क्षेत्र सेल्फीसाइटको रुपमा परिणत भएको हो।
नेपालकै पहिचान बोकेको स्वागतद्वारको रुपमा शंकराचार्य गेटलाई हेरिन्छ। महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दै द्धार अगाडि राष्ट्रिय झन्डासमेत राखेको छ।
विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा डिजिटल बत्ती राखिएको छ। सरकारी उदासिनताको कारण विगतमा जिर्ण भएको कुरालाई मध्यनजर गरेर शंकराचार्य गेटको संरक्षणसँगै त्यसलाई आकर्षक बनाउन महानगरपालिकाले अभियान थालेको थियो।
शंकराचार्यद्धारको सौन्दर्यीकरण कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले यस क्षेत्रलाई गुरूयोजना अन्तर्गनै विकास गरिने बताए।
संघीय सरकारको उदासिनताको कारण यो क्षेत्रका उचित विकास हुन नसकेको बताउँदै नगर प्रमुख सरावगीले मितेरी पुलदेखि वीरगन्जको रजतजयन्ती चोकसम्मको क्षेत्रलाई गुरू योजना अन्तर्गत सौन्दर्यकरण गरिने दाबी गरे।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भूसालले आफू वीरगन्जमा कार्यरत भएर आएपछि शंकराचार्यद्धारलाई सौन्दर्यीकरण गर्दै राष्ट्रिय पहिचानको रुपमा सेल्फी स्पटमा परिणत गर्ने प्रतिवद्धता पुरा भएको बताए।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रदेश सभासद ओमप्रकाश शर्मा, वीरगन्ज भन्सार कार्यालयका प्रमुख श्याम प्रसाद भन्डारी, सीमाजागरण मञ्च विहार प्रदेशका अध्यक्ष महेश अग्रवाललगायतका वक्ताले वीरगन्ज रक्सौल सिमा क्षेत्रमा रहेका समस्याहरुको बारेमा दुबै सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएको थिए।