बुटवलको जितगढी किल्लामा ९ फिट उचाईको कर्नेल उजिर सिंह थापाको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईको नेपालको झण्डा बन्ने भएको छ।
अङ्ग्रेज फौजलाई परास्त गरि विश्वसामू नेपालको सान बढाएको ऐतिहासिकस्थल जितगढीको महत्वलाई उजागर गर्ने उद्धेश्यसहित बुटवल उपमहानगरपालिकाले पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजना अगाडि ल्याएको हो।
सो स्थानमा अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको शालिक छ। अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ।
त्यसैगरी शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फरफराईने छ। दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
शालिक र राष्ट्रिय झण्डाको टावर निर्माणको लागि हेभेन कन्स्ट्रक्सन प्रालिसँग उपमहानगरले ठेक्का सम्झौता समेत गरिसकेको छ।
दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ। शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५ दशमलव ७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए।
बेसमेन्टमाथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ। जितगढीलाई मणिमुकुन्द सेन दरवार, नुवाकोट र ऐतिहासिक बटौलि बजारसँग जोडेर विकास गर्ने योजना रहेको वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।
किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइनुपर्ने जानकारहरुको भनाई छ।
राष्ट्रिय महत्वको स्थान भएकाले संघीय सरकारबाटै उत्खनन् र विकासको काम हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्।
जितगढीको विकासका लागि प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन्।
बजेट विनियोजन गरे पनि संघ र प्रदेश सरकारले अहिलेसम्म कुनै कामको सुरूवात गरेका छैनन्।