चितवनको सौराहामा जारी ‘१५औं चितवन हात्ती महोत्सव’ अन्तर्गत् बिहीबार हात्तीहरुको पिकनिक गरिएको छ।
बाघमारा मध्यवर्ती वनको चौरमा जारी महोत्सवको पिकनिकमा ७९ हात्तीहरु सहभागी थिए।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्तीलाई मनपर्ने परिकार खुवाएर वनभोजको उद्घाटन गरेका थिए।
चितवन राष्ट्रिय निकुञ्जका १८ र सौराहाका व्यवसायीका ६१ ओटा हात्ती वनभोजमा सहभागी भएको क्षेत्रीय होटल संघ चितवन सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिए।
बिहीबार हात्तीलाई सफारीमा नपठाइ सामूहिक रूपमा भोजन गराइएको उनले बताए।
वनभोजमा हात्तीका लागि उखु, केरा, सुन्तला, बन्दा, काउली, कुचीलगायतको व्यवस्था आयोजकले गरेको थियो ।
बिहीबारै एनआरएन हङकङ र युनाइटेड हात्ती सहकारी संघबीच मैत्रीपूर्ण हात्तीपोलो खेल सम्पन्न भएको छ ।
बिहीबार नै महोत्सवमा संरक्षणमूलक कवि गोष्ठीसमेत आयोजना गरिएको थियो । कवि गोष्ठीमा विभिन्न जिल्लाका १५ जना कविले कवितावाचन गरेका थिए ।
बिहीबारै पशुपति शर्मा, मिलन लामालगायतका चर्चित कलाकारहरुले सांगीतिक कार्यक्रममार्फत् आफ्ना प्रस्तुति दिए ।
बुधबार सुरु भएको हात्ती महोत्सव यही पुस १५ सम्म चल्नेछ ।
तस्बिरहरूः निशा भण्डारी र सुरेन्द्र राना