मैदानको बिचमा खोला बगेको छ। खोलाको पारीपट्टीको केही अग्लो स्थानमा बनाईएको पर्खालको बिचबिचमा तोपको लागि नाल बनाईएको छ।
मैदान वरिपरी रातो र कालो पोशाकमा आधुनिक र परम्परागत हतियारमा सुसज्जित सैनिकहरु उभिएका छन्।
कोही रगताम्य भएर जमिनमा ढलेका छन्। कोही तरवार र खुँडा ताकिरहेका देखिन्छन्। झट्ट हेर्दा कुनै युद्वमैदान जस्तो देखिने यो दृश्य बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा निर्माण गरिएको जितगढी युद्व मैदानको हो।
विक्रम संम्बत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्व कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो।
जसको कारण आज पनि नेपालीहरू वीर गोर्खालीका नामले विश्वभर आफ्नो शिर उँचो बनाएका छन्।
कहीँ कतै नहारेको अंग्रेज फौजलाई घुँडा टेकाएको बुटवलको जितगढीस्थलको प्रचारप्रसार र सम्बर्धन गर्ने उद्धेश्यले रूपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पोमा २ सय ५ वर्ष पहिले जितगढीमा भएको युद्वको जिवन्त दृश्य देखाउने प्रयास गरिएको छ।
एक्स्पो आयोजकलाई जितगढीको जिवन्त दृश्य उतार्न र प्रदर्शन गर्न बुटवलस्थित नेपाली सेनाको जवरजंग गणले सघाएको छ।
अंग्रेज सेनासँगको युद्वमा नेपाली सेनाको तर्फबाट जबरजंग गणबाट कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेका थिए भन्ने ईतिहाँस छ। अंग्रेज फौजको तर्फबाट भने जनरल सुलेभान उडले नेतृत्व गरेका थिए।
बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढी युद्वमा तीन वटा गणबाट नेपाली सेनाका फौजले विरता प्रस्तुत गरेका थिए। त्यो लडाईमा ३ सय भन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको ईतिहासविद् विमलबहादुर शाक्यले बताए।
नेपाली सेना विश्वभर वीर छन् र कसैका सामु पराजयको घुँडा टेक्दैनन् भन्ने प्रमाणित गर्दै विजय हासिल गरेको उक्त लडाईमा तत्कालिन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भिमसेन देउजा, जमदार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए।
हरेक वर्ष पुस महिनामा सञ्चालन हुने बुटवलको औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाहरुमा दर्शकलाई आकर्षित गर्न आयोजकले विभिन्न ऐतिहासिक स्थलहरुको पृष्ठभुमीलाई प्रस्तुत गर्दै आएका छन् । विगतका वर्षहरुमा प्रस्तुत गरिएका ऐतिहासिक स्थलका दृश्य भन्दा यसपटक प्रदर्शन गरिएको जितगढी किल्लाको जीवन्त स्वरुपले दर्शकहरुको मन जितेको छ।
त्यहाँ बनाईएका मानव आकृत्ति हेर्दा कुनै प्रदर्शन मात्र नभई जिवन्त जस्तै लाग्छ। जितगढी किल्लामाथि नेपाली राष्ट्रिय झण्डासँगै उभिएका कर्णेल उजिरसिंहको आकृति हेर्दा नेपालीहरु कहिल्यै कोही सामू पनि झुक्दैनन् र हार्दैनन् भन्ने आभास दिलाउँछ।
त्यो सँगै बनाईएका भगवती मूर्तिहरूले कर्णेल उजिरसिंह लडाईमा हिड्नुपूर्व अंग्रेजमाथि विजय प्राप्त गरी फर्किन सके भगवतीको मन्दिर स्थापना गरी जयजयकार गर्ने छु भन्दै भाकल गरेको र त्यही शक्तिले लडाई जितेको ईतिहाँस स्मरण हुन्छ।
जुन मन्दिरलाई कर्णेल उजिर सिंहले पाल्पामा निर्माण गरी अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा बसेको छ।
रूपन्देहीको रूद्रपुरबाट व्यापार मेला अवलोकन गर्न आएका धनिराम पौडेलले सधै जितगढीहुँदै बुटवल आउने गरे पनि यसको महत्व के रहेछ भन्ने व्यापार मेलामा आएपछि बल्ल बुझ्न पाएको बताए।
व्यापार मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बुटवल बजारमै रहेर पनि जितगढीबारे स्वयम् रूपन्देहीवासीलेसमेत जानकारी पाउन नसकेकोले यसको प्रचारप्रसारको लागि मेलास्थलमा प्रदर्शन गर्ने प्रयास गरिएको बताए।
जितगढी युद्वको दृश्य तयार गर्न १२ लाख रूपैयाँ खर्च भएको उनले बताए।
मेलामा पुग्ने हरेक दर्शक एकपटक यो किल्लामा नपुगी फर्किदैनन्। किल्ला अवलोकन गर्न पुग्ने हरेक युवायुवती मोबाईलमा सेल्फी खिच्न व्यस्त देखिन्छन्। जितगढीको बारेमा थप बुझ्न चाहनेहरुको लागि नेपाली सेनाको जबरजंग गणले विभिन्न फोटो प्रदर्शनी गरेको छ।
व्यापार मेलामा निर्मित किल्लाको संरक्षणसमेत नेपाली सेनाले गर्दै आएको छ। युद्वको बेला लडेका नेपाली र अंग्रेज फौजसँगै हातमा बन्दुक बोकेर उभिएका नेपाली सेनाका जवान हेर्दा कुन निर्जिव र कुन सजिव हुन् भन्ने छुट्टयाउन समेत कठिन हुन्छ।
अवलोकनको लागि पुगेका बुटवलका श्याम थापाले किताबमा पढेको युद्वको झलक प्रत्यक्ष देख्न पाउँदा युद्व नै हेरेको अनुभूति भएको बताए। उनले यो झलकलाई प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले जितगढीमा संग्रहालय बनाएर सुरक्षित राख्न सुझाव दिए।
चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिन्छ।
निर्माण गर्दा गढीको नामले निर्माण गरिए पनि अंग्रेजसँगको लडाईमा विजय हासिल गरेपछि यसको नाम जितगढी हुन पुगेको यसक्षेत्रका जानकार रविन्द्रगोपाल लाकौल बताउँछन्।
वीरताको ईतिहाँस बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको पहल २०५४ सालमा भए पनि अधुरो रहेको छ। वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो।
अहिले बुटवल उपमहानगरपालिकाले जितगढीमा उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहराउने योजना तय गरेको छ। चालु आर्थिक वर्षमा जितगढीको संरक्षण र प्रवद्र्धनको लागि ५० लाख रुपैया विनियोजन गरेको छ।