अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले १०० रुपैयाँमा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् ।
सदरमुकामका १० होटलले १०० रुपैयाँमा १०० कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा सहुलियतमा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिनेछ ।
नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजु खड्काले बताए। “थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन्” उनले भने, “जिल्लामै रमाउने वातावरण सिर्जना गर्न खोजका हौँ ।” बाहिरी पर्यटक पनि नयाँ वर्ष मनाउन बागलुङ आउने अवस्थाको सिर्जना गरिने समितिले जनाएको छ ।
बागलुङको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले टेवा पुग्ने होटल व्यवसायी अर्जुन चोखालले बताए। “समिति र व्यवसायी मिलेर एउटा सन्देश दिन खोजेका हौँ” उनले भने। पर्यटक भित्र्याउन नसके होटल व्यवसाय सङ्कटमा पर्ने उनको भनाइ छ । पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार छन् ।
साङ्गीतिक साँझमा विभिन्न कलाकारको प्रस्तुति रहने जनाइएको छ।
समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको छ ।