‘हामी उठ्ने छौं (वि विल राइज फाउन्डेसन)' ले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा गर्ने भएको छ।
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि अगाडि आउन नसकेका स्थानको प्रचार गर्ने उद्देश्यले फाउन्डेसनले नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा घोषणा गरेको हो।
पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने हाम्रा कुनै पनि गाउँका प्राकृतिक, सांस्कृतिक, भेषभुसा, खानपान, कला लगायत जुनै पनि विषयलाई आधार बनाएर भिडियो तयार पार्न सकिने आयोजकको भनाइ छ।
अहिले पर्यटकहरुको अत्यधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा पनि त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिनेछ। भिडियो भने नेपालकै हुनु पर्छ।
भिडियो प्रतिस्पर्धाबारे जानकारी दिँदै फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले प्रतिस्पर्धामा सहभागि हुने भिडियो भने पर्यटकीय सम्भावना बोकेको र ओझेलमा परेको क्षेत्र हुनुपर्ने बताएका छन्।
भिडियोको समय अधिकतम ५ मिनेट हुनुपर्छ। उत्कृष्ट भिडियोले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउने व्यवस्था छ। साथै पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउनेछ। उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५–२५ हजार रुपैयाँ नगद पाउने फाउन्डेसनले जानकारी दिएको छ।
आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले स्मार्टफोनको 'एचडी क्वालिटी'मा भिडियो खिचेर समेत सहभागीता जनाउन सक्नेछन्। त्यो भन्दा बढी गुणस्तरको भिडियो क्वालिटी भए पनि मान्य हुने जनाएको छ।
भिडियो प्रतिस्पर्धाको जुरीमा चलचित्रको क्षेत्रमा उल्लेख्य योगदान गरेका र पर्यटकीय क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति छन्। जसमा डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री मेकर मोहन मैनाली, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, सिनियर साउण्ड एक्सपर्ट प्रदिप उपाध्याय र नेपाली चलचित्रकी निर्देशक सम्झना उप्रेती रौनियार छन्।
भिडियो निर्माताले आफूलाई मन परेको बिषयमा फाउडेसनको आधिकारिक वेबसाइट 'डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी' मा जानकारी गराउनु पर्नेछ।
निर्णायकहरूबाट चयन भएका उत्कृष्ट भिडियोलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचारप्रसार गरिने छ। यसमा सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने छ।