नेपाल आउने झन्डै आधा पर्यटक तीन देशबाट आएका छन्।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने झन्डै आधा पर्यटक भारत,चीन र अमेरिकाबाट आएका हुन्।
सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशीले नेपाल भ्रमण गरेका छन्।
१२ महिनामा ९ लाख ६९ हजार हवाई यात्राबाट नेपाल प्रवेश गरेका छन् भने २ लाख ३ हजार स्थलमार्ग हुँदै नेपाल भ्रमण गरेका हुन्।
अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटक आगमन २४ प्रतिशतले बढेको छ।
सरकारी लक्ष्य पूरा नभए पनि यो ठूलो उपलब्धि भएको पर्यटन बोर्डले बताएको छ।
नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीयहरू रहेका छन्।
गएको वर्ष २ लाख ३ हजार भारतीयले नेपाल भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी हने।
त्यस्तै, संख्याका हिसाबले चिनियाँहरू दोस्रोमा छन्। यो बीचमा १ लाख ५३ हजार चिनियाँहरूले नेपाल भ्रमण गरेका छन्।
अघिल्लो वर्षको तुलनामा यो ४६ प्रतिशत बढी हो।
यसैगरी, थाइल्यान्ड, जापान, कोरियाबाट नेपाल आउनेहरूको संख्या पनि सन् २०१७ को तुलनामा बढेको छ।
युरोपियन मुलुकबाट नेपाल आउनेहरूको संख्या पनि उल्लेख्य रहेको छ। पर्यटन बोर्डका अनुसार सन् २०१८ मा बेलायतबाट ६३ हजार, जर्मनीबाट ३६ हजार र फ्रान्सबाट ३१ हजार नेपाल भ्रमणमा आएका छन्।
सन् २०१८ मा २ लाख ३४ हजार युरोपियनहरूले नेपाल भ्रमण गरेका छन्। नेपाल भ्रमणमा धेरै आउने तेस्रो देश अमेरिका बनेको छ।
सन् २०१८ मा संयुक्त राज्य अमेरिकाबाट ९१ हजारले नेपाल भ्रमण गरेका छन्।
पछिल्लो समय नेपालको प्रवर्द्धनमा गरिएको मेहेनतको फल देखिन थालेको पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताए।
‘हामीले पछिल्लो समय गरेको मेहेनतको परिणाम अब देखिन थालेको छ। पछिल्ला तीन वर्षमा उच्च वृद्धिदरले निरन्तरता पाएको छ’, जोशीले भने,‘विगतमा अफ सिजनमा पनि धेरै पर्यटक नेपाल आएका छन्। हामीले विश्वलाई नेपाल सिजनल गन्तव्य होइन भन्ने सन्देश दिएका छौं।’