पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह कपिलवस्तुको तिलौराकोट, जगदिशपुर ताल र नवलपरासीको रामग्रामको अवलोकन गराउने गरी हट एअर बेलुन उडाउने तयारी भएको छ।
बिहीबारदेखि उडान शुरु गर्नेगरी नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) ले त्यसको व्यवस्थापन गरिरहेको संस्थाका प्रदेश ५ का प्रथम उपाध्यक्ष सन्जय बजिमयले बताए ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा हट एअर बेलुन उडाईन लागिएको हो। बिहीबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर ती बेलुन उडाउन थालिएको हो ।
एक पटकको उडानमा ७ जनासम्म चढ्न मिल्ने उक्त बेलुनमा उड्नका लागि बुकिंङसमेत शुरु भईसकेको छ । लुम्बिनीमा रहेको हेलिप्याडदेखि शुरू हुने हट एअर बेलुनमा २ किसीमको प्याकेज रहेका छन्।
एउटा छोटो दुरीको १० मिनेटको र अर्को लामो दुरीको ३० मिनेटको प्याकेज छ।
आयोजकका अनुसार छोटो दुरीको दिनमा कम्तिमा १२ पटक र लामो दुरीको कम्तिमा ३ पटक सम्म उडान गराईनेछ।
तातो हावाले उड्ने उक्त हट ब्यालुन सडकमा गुड्ने चार पांग्रे गाडीभन्दा पनि सुरक्षीत हुने आयोजकले दाबी गरेको छ। कुनै पनि किसिमको प्रदुषण नहुने हट एअर ब्यालुनको लुम्बिनी, कपिलवस्तुको जगदीशपुर, तिलौराकोट, देवदह र रामग्राम सम्मको उडान गर्दा आकाशबाट त्यस क्षेत्रको दृश्य अवलोकन गर्ने महत्वपूर्ण अवसर मिल्ने नाट्टाका उपाध्यक्ष सागर अधिकारीले बताए ।
हेलिकप्टरमा उडेर अवलोकन गर्दा धेरै खर्च पर्नेमा हट एअर बेलुनबाट दृश्य अवलोकन गर्न पनि पाईने, आवश्यक तस्वीर खिच्न तथा छायाँकन पनि गर्न पाईने हुँदा यो प्रभावकारी हुने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट स्थानीय सचिवालय संयोजक नाट्टा प्रदेश ५ का महासचिव चन्द्र बहादुर थापाले बताए ।
हट एअर बेलुन पोखरा क्षेत्रमा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको क्रममा लुम्बिनी क्षेत्रमा पनि यो आकर्षण बन्ने आयोजकले अपेक्षा लिएको छ ।
विहीबारदेखि लुम्बिनीमा अन्तराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट हुंदै छ । मार्टमा संसारभरीका टुर अपरेटर सहभागी हुँदैछन्। आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रबद्र्धन र व्यापारमा टेवा पुग्ने अपेक्षासहित नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तिनदिने मार्टको आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टलाई शुक्रवार प्रधानमन्त्री के.पी शर्मा ओलीले लुम्बिनीमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिका संयोजक विष्णु शर्माले बताए ।
विहीबार विभिन्न देशबाट आउने टुर अपरेटरहरु रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको बुद्धसर्किटको भ्रमण गर्नेछन् ।
नेपाली पर्यटन व्यवसायीसँग विदेशी व्यवसायीको सिधा सम्पर्क गराउने उद्देश्यले आयोजित बुद्धिस्ट ट्राभल मार्ट देशकै लागि महत्वपूर्ण भएको नाट्टाका केन्द्रिय अध्यक्ष सिएन पाण्डेले बताए ।
अहिलेसम्म पर्यटन व्यवसायीहरुले आ–आफ्नो ढंगले स्वदेशी र विदेशी बुद्धिस्ट साइट जोडेर पर्यटन प्याकेज बनाईरहेका छन्। यो कार्यक्रमसँगै रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको आन्तरिक बुद्धिस्ट सर्किटको प्याकेज बन्ने छ ।
यसैगरी नेपालको रुपन्देही, कपिलवस्तु र नवलपरासीको बुद्धिस्ट सर्किटसहित भारतको बोधगया, राजगीर, सारनाथ र कुशिनगर जोडेर बाह्य सर्किट बनाउने तयारी थालिएको हो। यसका अतिरिक्त नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, बर्मा, भियतनाम र चाईनाका महत्वपूर्ण साइट जोडेर सिल्क रूटका रूपमा विकास गरिँदैछ।