पदयात्राका पारखीका लागि अन्नपूर्ण ट्रेकिङ आकर्षक मानिन्छ। संसारकै उत्कृष्ट पदयात्रा रुटका रूपमा परिचित यो पदयात्राले पहिचान गुमाउँदै जान जान थालेको अभुवन वर्षौदेखि पदयात्रामा संलग्नहरूले गर्न थाले। यस्तो महसुस गर्नेमध्येका एक थिए व्यवसायी, त्रिपल गुरुङ।
होटल, पदयात्रा तथा अन्य पर्यटकीय व्यवसायमा संलग्न गुरुङले पहिलेदेखि नै अन्नपूर्णले पहिचान गुमाउन थालेको अनुभव गर्न थालेका थिए तर त्यसको विकल्प कसरी बनाउने भन्नेमा लामो समय अध्ययन गरे।
‘साथी सर्कलदेखि सबैसँग यसबारेमा मैले धेरै अध्ययन गरें। अन्ततः केही साथी र पर्यटन बोर्डको सहयोगबाट बैकल्पिक रुट बनाएर छाड्यौं’ मनाङ युथ सोसाइटीका अध्यक्ष रहेका गुरुङले सेतोपाटीसँग भने।
गुरुङसहितको समूहले अहिले अन्नपूर्ण जत्तिकै लामो पदयात्रा रूट पहिचान गरे त्यसको नाम हो ‘अन्नपूर्ण सेभेन पासेज ट्रेक’।
यो अन्नपूर्ण ट्रेकको विकल्पभन्दा पनि पूरानो अन्नपूर्णजस्तो लामो रूट भएको उनको भनाइ छ।
‘यो विकल्प होइन र पुरक पनि होइन यो त नयाँ पर्यटकीय उत्पादन हो’ उनले भने,‘यसबाट नेपाल आउने पर्यटकलाई नयाँ स्वाद हुने छ।’
सेभेन पासेज नेपालको नयाँ र पछिल्लो पर्यटकीय उत्पादन भएको र यसबाट थप पर्यटक नेपाल ल्याउन र बढी आम्दानी गर्न सकिने यसका अभियन्ताहरूको भनाइ छ।
अन्नपूर्ण छोटिएपछि पूरानो अन्नपूर्ण जत्तिकै २० दिन लामो यो रूट नयाँ भएकोले पदयात्री एक्लै जान भने कठिन छ।
मनोरम हिमाली दृष्यको अवलोकन, कठिन पर्वतीय उचाइ पार गर्दै वनस्पतिदेखि वन्यजन्तुसम्मको अवलोकन यो रूटका आकर्षण रहेको रुट पहिचानमा संलग्न मिग्मा शेर्पाको भनाइ छ।
‘यो भर्जिन रूट हो यसमा केही कठिनाइहरु छन् बिस्तारै यसमा पूर्वाधार निर्माण हुँदै पनि जालान् तर यसबाट नेपालले धेरै लाभ लिनसक्छ’ उनले भने।
काठमाडौंबाट पुगेर फेरि काठमाडौं फर्किन यो ट्रेकमा २० दिन लाग्नेछ। नेपालमा अहिले लाङटाङ, एभरेष्ट बेसक्याम्पसजस्ता सीमित पदयात्रा रुटमात्र छन्। धेरैजसोमा सडकले छोएपछि नयाँ रुट पहिचान नहुँदा व्यवसायीहरुले गुनासो गर्दै आएका थिए।
यो नयाँ रुटमा सातवटा उच्च भन्झ्यांगहरु(पासेज) छन्। त्यसमध्ये चारवटा ५ हजार मिटर बढी उचाइमा रहेका छन्।
अन्नपूर्ण पदयात्राको तालबाट माथि लागेर नरवाल भन्ने ठाउँमा निस्कने यो रूटमा कुचम्रो पास, यार्चा पास, मेटा पास, फू पास, नार पास, कंगला पास र थोरागला पास यो रुटमा रहेका छन्।
भिडियाे: