यो हिउँदमा हिमाल पारीको जिल्ला मुस्ताङ घुम्ज जाने योजनामा हुनुहुन्छ भने सदरमुकाम जोमसोम नजिकैको ठिनीमा सञ्चालित थकाली सामुदायिक होमस्टेले स्वागत गर्न पर्खि बसेको छ।
पारिवारिक वातावरण, कोठाका झ्यालबाटै हिमाल देख्न सकिने, थकाली संस्कृति र परिकारले ठिनीको होमस्टेको बसाई रमाइलो बनाउनेछ।
जोमसोम बजारदेखि तीन किलोमिटर पूर्वतर्फ अवस्थित पाँच गाउँले थकाली समुदायको उद्गम थलो ठिनीमा हिउँ पर्न थालेसँगै मुस्ताङ र मुक्तिनाथ जानेहरू स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ।
होमस्टे सञ्चालन गरेपछि निलगिरी हिमालको फेदीस्थित घरपझोङ गाउँपालिका ५ को ठिनी पर्यटकीय गन्तव्यको रूपमा विकास भएको स्थानीय युवा निरज थकालीले बताए।
हाल ठिनीका १२ घरमा होमस्टे सञ्चालन भएको छ। २०७४ भदौमा ५ घरमा होमस्टे सुरु गरिएको थियो। पाहुनाको चाप बढेपछि थप ७ वटा घरमा विस्तार गरिएको थकाली सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव जुमा थकालीले बताइन्।
‘घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,’ – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भने।
यहाँ एक दिनमा ५० जनाको हाराहारीमा पाहुना बास बस्न सक्छन्। ढुंगा, माटो र काठबाट बनेका सेतो रंगले पोतिएका, छतमा दाउरा राखिएका गुजुमुज्ज घर रहेको ठिनीबाट धौलागिरी र निलगिरी हिमालको दृष्य अवलोकन गर्न सकिन्छ।
गाउँ नजिकैको बारीको हरियाली, स्याउ बगैंचा र पृष्ठभूमिमा देखिने जोमसोम बजारले पर्यटक लोभ्याउँछ। नजिकै हिउँ चितुवा गुफा छ। जातीय पहिचान झल्कने सामग्री संकलन गरी थकाली संग्रहालय स्थापना गरिएको स्थानीय नरेन्द्र थकालीले बताए।
ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ । गाउँमाथिको नमखुलेकमा २०७० सालमा एक्यापले गरेको क्यामेरा ट्रयापिङमा चार वटा हिम चितुवा देखिएका थिए ।
ठिनी गाउँमा अवलोकन गर्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, नीलगिरि हिमाल, थकाली संग्रहालयलगायतका सम्पदा रहेका छन् ।
ठिनीदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने तीन हजार ७ सय ५० मिटर उचाईको यारुझुमा भ्यू टावर निर्माण भएको छ। यहाँबाट निलगिरी, धौलागिरी, मेसोकान्तो हिमाल, तिलिचो पिक र नांगा पहाडका साथै कालीगण्डकी भ्यालीका गाउँ, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथदेखि कोरलासम्मका दृष्य अवलोकन गर्न सकिन्छ।
सडक पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ। ठिनी भएर संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने पदमार्ग पनि सञ्चालन भएको छ।
यस्तै ठीनीकै प्रसिद्ध ढुम्बा तालमा हिउँ परेर जमेको छ। हिँउले जमेको तालमा केही युवाहरूले फोटो खिचेर रमाइलो गरेको तस्बिर सञ्चार माध्यममा सार्वजनिक भएपछि ताल जानेको संख्या एक्कासी बढेको छ। पाना आकारको तालमा यतिखेर पानी जमेको छ। ‘तालको फोटो सार्वजनिक भएपछि मलाई धेरैको फोन आइसक्यो,’ निरजले भने,‘ ताल हेरेर, तालमा रमाइलो गरे ठीनी होमस्टेमा बस्न सहज र उपर्युक्त हुन्छ।’
समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।
जोमसोमदेखि ठिनीहुँदै ढुम्बाताल पुग्न सकिन्छ।
होमस्टेमा अन्नपूर्ण क्षेत्र र मुक्तिनाथ घुम्ने पर्यटक लोभिनेमा गाउँले आशावादी छन्। ‘हाम्रो होमस्टेमा बेडको दुई सय रूपैयाँ र खानाको २ सय ५० रूपैयाँ मात्रै पर्छ’, थकाली सामुदायिक होमस्टेका अध्यक्ष सनप्रसाद थकाली भन्छन्, ‘हामी पाहुनालाई लोकल परिकारहरू फापरको रोटी, नुन चिया, ढिँडो, चम्पा, याकको सुकुटी, स्याउ, आदि खुवाउँछौं ।’
हेर्नुहोस् हिउँ परेपछि देखिएको मुस्ताङका दृश्यहरू