चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ।
शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
नारायणी नदीको सुन्दरतासँग देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने भएकाले पनि यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो रहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिकाको डण्डादेखि करीब १० किलोमिटरको यात्रापछि आउने नारायणी गङ्गेश्वरधाम परिसर धार्मिक पर्यटन तथा वनभोज स्थलको रुपमा विकास हुँदै गएको छ ।
कावासोती नगरपालिका–१७ अमलटारीमा पर्ने यस क्षेत्रमा २०५२ सालमा महादेवको मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गर्न थालिएको थियो ।
पछिल्लो समय यस क्षेत्रमा वनभोज खान समेत आउने क्रम बढेको धाम व्यवस्थापन समितिका अध्यक्ष युक्तप्रसाद गौडेलले बताए।
नजिकै रहेका थारु ग्रामीण बस्ती, अमलटारी घरवाससहित मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अवलोकन गर्न समेत पाइने भएपछि आन्तरीक पर्यटक यस क्षेत्रमा आउने क्रम बढेको हो ।
नयाँ वर्ष, विभिन्न चाडपर्व, बिदाको समयमा यस क्षेत्रमा घुम्न आउने आन्तरीक पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको गौडेलले बताए। वैशाख सङ्क्रान्ति, साउनमा बोलबम, माघे सङ्क्रान्तिमा मेला तथा शिवरात्रिको अवसरमा मेलाको आयोजना समेत गरिँदै आइएको छ ।
खेलकूद विकासका लागि वार्षिक रुपमा विभिन्न खेलकूदका कार्यक्रम समेत गर्दै आएको अध्यक्ष गौडेलले बताए। नारायणी धाम परिसरमा आउने व्यक्तिको सुविधाका लागि विश्रामस्थल निर्माण गरिएको छ । धाम परिसरमा वृद्धाश्रम तथा आवश्यक संरचना निर्माणको योजना समेत रहेको समितिले जनाएको छ ।