पर्यटकीय क्षेत्र रामपुरको तालपोखरामा डुङ्गाबाट एकै दिनमा ८० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ । महाशिवरात्रि पर्वका दिन सोमबार डुङ्गा सञ्चालनबाट सो आम्दानी भएको हो ।
सोमबार एक हजारभन्दा बढी टिकट बिक्री भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए। यही फागुन १६ देखि २० गतेसम्म चलेको विशेष मेलामा डुङ्गाबाट एक लाख ६० हजार रुपैयाँ आम्दानी भएको उनले बताए। “डुङ्गाबाट नसोचेको आम्दानी भएको छ”,उनले भने। दानपेटिका र उद्यानबाट दुई लाख रुपैयाँ आम्दानी भएको छ ।
कास्कीको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरामा तीन ¥याफ्टिङसहित ६ डुङ्गा सञ्चालन गरिएको थियो। तालको बीचमा जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने र अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । “डुङ्गामा एकै पटकमा १५ देखि २० जनासम्म राख्न सकिन्छ”, डुङ्गा चालक भगवान् देवकोटाले भने।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तालपोखरामा पहिलो पटक डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताउँछन्। सो प्रतियोगितामा ११ समूहले भाग लिएको थियो । किशोर देवकोटाको समूह दुई मिनेट २३ सेकेण्डमा तालपोखरामा डुङ्गा घुमाएर पहिलो भयो । हरि भण्डारीको समूह द्वितीय तथा अमृत भण्डारीको समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, पाँच हजार र दुई हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रतियोगिताबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको बताए। “नगरपालिकाले प्राथमिकतामा राखेर प्रवद्र्धनमा सहयोग गरिरहेको छ”, उनले भने।
नेपालकै उत्कृष्ट १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए।
वर्षायामको पानी जम्मा हुने सो पोखरीलाई स्थानीयवासीले तालको रुपमा विकास गरेका हुन् । करीब ६५ रोपनी क्षेत्रफलमा फैलिएको सो ताललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन २०६६ सालमा संस्था गठन गरी निर्माण अगाडि बढाइएको हो।
श्रीमद्भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सञ्चालन गरी यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको परिकल्पनाकार देवराज देवकोटा बताउँछन्। “अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, उनले भने। अहिले दैनिक करीब २०० जनाले डुङ्गा चढ्ने गरेका छन् । कुलो र नहरको पानीबाट तालपोखरामा डुङ्गा सञ्चालन गरिँदै आएको छ । नजिकै रहेको कालीगण्डकीबाट समेत लिफ्टिङ गरी तालमा पानी ल्याइएको छ ।
कृत्रिमतालले पर्यटकलाई लोभ्याउन सफल भएको छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । तालपोखराको पूर्वाधार निर्माण गर्न हालसम्म एक करोड ९८ लाख ६८ हजार रुपैयाँ खर्च भएको र बाँकी पूर्वाधार निर्माणमा एक करोड रुपैयाँ बराबर खर्च हुने लेखा समिति संयोजक पुरुषोत्तम ढकालले बताए। रामपुर नगरपालिकाले आव २०७३÷७४ मा एक लाख २५ हजार, आव २०७४÷७५ मा २८ लाख तथा चालू आव २०७५÷७६ मा २० लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।