रुपन्देहीको तिलोत्तमास्थित बाउन्नकोटी सामुदायिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेगरी गुरूयोजना बनाइएको छ।
वन क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले गुरूयोजनामार्फत् विभिन्न भौतिक पूर्वाधार निर्माणको योजना बनाएको हो।
१ सय ५७ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वन तिलोत्तमा नगरपालिकाको वडा नं. १३, १४, १५ र १६, सियारी गाउँपालिकाको वडा नं. १ र ओमसतिया गाउँपालिकाको वडा नं. १ र २ मा फैलिएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमा घोषणा गरेका मुलुकभरका एक सय नयाँ पर्यटकीय गन्तव्यमा तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) सँगै बाउन्नकोटी सामुदायिक वन पनि रहेको थियो।
सार्वजनिक सूचना, अध्ययन र पर्यटन क्षेत्रका विज्ञहरूको सुझावका आधारमा सूचिकृत गरिएका नयाँ पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि सरकारले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिने यो वनमा टिक जातिको वनस्पतिको ठूलो जंगल रहेको छ भने सिमसार क्षेत्र यहाँको प्रमुख विशेषता रहेको छ।
प्राकृतिक रूपमा मनोरम रहेसँगै जिल्लामै प्रख्यात रहेको नन्द भाउजू ताल, सिमसार क्षेत्र र ऐतिहासिक बाउन्नकोटी मन्दिर रहेको सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सरोकारवालाहरू बताउँछन्।
मन्दिर, पिकनिक सेड, गौशाला लगायतका केही संरचनाहरू बनिसकेका छन् भने वर्षेनी हजारौं सर्वसाधारण पिकनिक, विभिन्न अध्ययन तथा अवलोकनको लागि यो क्षेत्रमा पुग्ने गर्छन्।
बेलहिया बुटवल सडक खण्ड अन्तर्गत कोटिहवा र लखन थापा चोकदेखि पश्चिमतर्फ रहेको बाउन्नकोटी वन क्षेत्र भैरहवा, बुटवल र लुम्बिनीकै मध्यभागमा पर्ने भएकोले पनि पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ।
सोही अनुरूप सामुदायिक वनले गुरूयोजना तयार गरेको हो। महालक्ष्मी इन्जिनियरिङ कन्सल्टेन्सीको समन्वयमा तयार गरिएको गुरूयोजनाको नक्सांकनमाथि सरोकारवालाहरूका बीचमा छलफल समेत गरिएको छ।
अहिले स्टिमेट गर्दा ८८ करोड ६० लाख रुपैयाँको लागत अनुमान गरिए पनि १५ वर्षमा गुरूयोजना पूरा गर्दा १ अर्बभन्दा भन्दा लाग्न सक्ने इन्जिनियर सुदीप पाठकले जानकारी दिए।
वनक्षेत्रमा हाल रहेको संरचनालाई प्राकृतिक स्वरूपमै राख्दै डुंगा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनिक स्पर्ट, भ्यु टावर निर्माण आदिलाई गुरूयोजनामा समेटिएको छ।
यस्तै कलात्मक प्रवेशद्वार, साइकिलिङ ट्याक, फुटबल मैदान र कभर्डहल तथा साँस्कृतिक कार्यक्रमका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने समेत गुरूयोजनामा उल्लेख छ। इन्जिनियर पाठकले गुरूयोजनामा छेउछाउका बस्तीलाई ग्रिन भिलेजको रूपमा विकास गर्दै होमेस्टे सञ्चालन लगायतका अवधारणा समावेश गरिएको बताए।
‘पर्यावरणीय हिसाबले यसको संरक्षण होस् भन्ने उद्देश्यले यसको विकासको गुरूयोजना बनाइएको छ, विकासको केही कार्य गर्दा थोरै धेरै बोटबिरुवा हटाउनुपर्ने भए पनि कसरी कम भन्दा कम बोटबिरुवा काट्ने भन्ने तर्फ ध्यान दिएका छौं,’ उनले भने।
भौतिक संरचना निर्माणको लागि एउटा रूख काटेको बदलामा सोही वन क्षेत्रभित्रै ३ वटा नयाँ बिरुवा रोप्ने गरी समितिसँग सल्लाह भइरहेको उनले बताए।
वन उपभोक्ता समूहका अध्यक्ष भोलाप्रसाद यादवले वनको कार्यलाई दीगो राख्दै लुम्बिनीसँग जोडेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नेगरी तयार गरिएको गुरूयोजनामा बोटबिरुवाको विनाश नगरी वन क्षेत्रभित्रको खाली जग्गालाई मात्र प्रयोग गरी संरचना निर्माण गरिने बताए।
यादवले गुरूयोजनाभित्र विभिन्न खालका पार्क, तलाउ, १ हजार व्यक्ति क्षमताको सेमिनार हल, भ्यु टावर, लाइव्रेरी, नन्दभाउजु ताललाई व्यवस्थित गरी सिसमहल, जिम हलसहितको कभर्ड हल, फुटबल ग्राउण्ड, बास्केटवल, शिवजीको ठूलो मूर्तिका साथै बौद्धविहारको समेत गुरूयोजनामा परिकल्पना गरिएको बताए।