यो वर्षको 'ट्रिप एड्भाइजर्स ट्राभलर्स च्वाइस अवार्ड' का विजेता सहरहरूको नाम सार्वजनिक भएको छ। अमेरिकी कम्पनी ट्रिप एड्भाइजरले विश्वभरका उत्कृष्ट पर्यटकीय ठाउँ र होटल मूल्यांकन गरी हरेक वर्ष विभिन्न विधामा अवार्ड दिँदै आएको छ।
पर्यटकहरूको रोजाइ र मनपराएको आधारमा दिइने ट्राभलर्स च्वाइस अवार्ड यसपालि बेलायतको राजधानी लण्डनले जितेको सिएनएन अखबारले जनाएको छ। सन् २०१९ मा घुम्न उत्कृष्ट २५ सहरको सूचीमा लण्डनलाई पछ्याउँदै फ्रान्सको राजधानी पेरिस परेको छ।
यो सूचीमा नेपालको राजधानी काठमाडौं १९ नम्बरमा परेको छ। काठमाडौंभन्दा पछि २० नम्बरमा भारतको जयपुर छ।
गत वर्ष यो सूचीमा पेरिस अग्रस्थानमा थियो। ट्रिप एड्भाइजरका अनुसार राजकुमार ह्यारी र मेगन मर्केलको बिहेले लण्डनको आकर्षण बढाएको छ।
'ह्यारी र मेगनको बिहेले लण्डनको आकर्षण बढाउन ठूलो मद्दत गरेको छ,' ट्रिप एड्भाइजरका प्रवक्ता हेली कोलम्यानले भनेकी छन्, 'अब उनीहरूको सन्तान जन्मिन लागेको छ। त्यसैले उनीहरूको प्रभाव आगामी वर्षसम्म लण्डनको आर्कषणमा पर्ने देखिन्छ।'
ट्रिप एड्भाइजरका अनुसार ह्यारी र मेगनको बिहेपछि 'शाही अनुभव र क्रियाकलाप' मा बुकिङ धेरै भएको छ। राजदरबार र शाही परिवारसँग सम्बन्धीत अरू दरबार र ठाउँ हेर्नेको जमात बढेको छ।
ट्रिप एड्भाइजर आफैंले सबभन्दा धेरै स्टार रेटिङ दिएको पेरिस यो वर्ष दोस्रो स्थानमा परेको छ। तेस्रो स्थानमा इटालीको राजधानी रोम छ भने चौथोमा ग्रिसको क्रिट, पाँचौंमा इण्डोनेसियाको बाली र छैठौंमा थाइल्याण्डको फुकेट छ।
हेर्नुहोस् सूचीः
- लण्डन, बेलायत
- पेरिस, फ्रान्स
- रोम, इटाली
- क्रिट, ग्रिस
- बाली, इण्डोनेसिया
- फुकेट, थाइल्याण्ड
- बार्सेलोना, स्पेन
- इस्तानाबुल टर्की
- मरेक्यास, मोरक्को
- दुबइ, युएइ
- प्राग, चेक रिपब्लिक
- सियाम रिप, कम्बोडिया
- न्युयोर्क सिटी, न्यूयोर्क
- जमाइका
- हानोइ, भियतनाम
- टोकियो जापान
- प्लाया डि कारमेन मेक्सिको
- लिज्वन पोर्चुगल
- काठमाडौं नेपाल
- जयपुर भारत
- हुरघाडा इजिप्ट
- हङकङ चीन
- कुस्को पेरू
- सिड्नी अस्ट्रेलिया
- तेल अभिभ इजरायल
(सिएनएनको सहयोगमा)