पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा १६ औं फेवा नव वर्ष महोत्सव २०७६ सुरु भएको छ। संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले उद्घाटन गरे ।
नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यसहित महोत्सव सञ्चालन गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए। महोत्सव आइतबारसम्म चल्ने छ ।
सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको शहर बनाउँदै बढी भन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताए।
प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरूरि भएको उनको भनाई थियो। ‘जीवनमा एक पटक पोखरा पुग्नैपर्छ भन्ने वातावरण यहाँ बनाउन जरूरि छ,’ उनले भने ।
फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई वर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने भनाई राखे ।
उद्घाटन पूर्व विभिन्न झाँकी प्रर्दशन गरिएको थियो। महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ। नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन्। सेफ एशोसिएशनसँग मिलेर महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी पनि राखिएको छ।