बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकार निर्माणको काम २ महिना भित्र सुरू हुने भएको छ।
लामो समयदेखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केबुलकार प्रालिले अबको दुई महिना भित्र काम सुरू गर्ने अन्तिम तयारीमा रहेको छ।
मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत पाएसँगै अब काम सुरु गर्ने कम्पनीले जानकारी दिएको छ। ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाई २ किलोमिटर ९० मिटर लो रहनेछ।
निर्माणको काम पुरा गरी २ वर्षभित्र सञ्चालन गर्नेगरी अहिले प्रालिले काम अगाडि बढाएको छ। विभागीय सम्झौता, जिल्ला वनबाट रुख कटान, छपानको आदेश पछि छपान सम्पन्न, माटो परीक्षण सम्पन्न भइसकेको प्रालिले बताएको छ।
त्यस बाहेक दुई वटै टावर राख्ने स्थानको माटो परीक्षण र छपानको काम समेत भईसकेको प्रालिका सञ्चालक माधव नेपालले सेतोपाटीलाई बताए।
‘लिखत रुपमा गर्नुपर्ने र कानुनी रुपमा गर्नुपर्ने सबै कामहरु करिब पुरा गरेका छौं, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, वन विभागबाट सम्झौता, जिल्ला वनबाट आदेश लिई रूखहरु छपान र तल्लो र माथिल्लो स्टेशनको माटो परीक्षण गरिसकेका छौं’, उनले भने, ‘अबको काम भनेको अष्ट्रेलियाको कम्पनीसँग केवुलकारको अर्डर गर्ने र कामलाई तिव्रता दिने मात्र बाँकि छ, हामी यसको तयारीमा छौं।’
केबुलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने, टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहनेछ।
करिब डेढ अर्ब रूपैयाँको लागतमा बन्न लागेको केबुलकारमा ४० जनाको लगानी रहेको छ। प्रालिले नुवाकोटमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम एक साथ सुरू गर्ने बताएको छ। महत्वाकांक्षी योजनाका साथ शुरू भएको सो केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने प्रा.लिले विश्वास लिएको छ।
पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका बिभिन्न स्थानका समेत गरि करिब ८ करोड जनसंख्या लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशत मात्रले पनि केबुलकार चढेमा ८० लाख पुग्ने प्रालिको दाबी छ।
बुटवलको जीतगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृष्यहरु एकैसाथ अवलोकन गर्न सकिने छ।
त्यस्तै नुवाकोट डाँडाबाट भारतको नौतनहवामा रेल गुडेकोसमेत स्पष्ट रुपमा देख्न सकिने स्थानीय बताउँछन्।
बुटवलदेखि नुवाकोटसम्म केबुलकार सञ्चालन पछि बिशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। शुरूआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ।
प्रालिका अनुसार १ घण्टामा १ हजारका दरले पर्यटक बोक्ने लक्ष्यसहित स्थापना हुन लागेको केबुलकारमा अधिकतम ९० देखि १ सय ४० वटा डिब्बा रहने प्रालिले जनाएको छ।
रूपन्देही र पाल्पा जिल्लाको संगमस्थलका रूपमा रहेको नुवाकोट गढीको मनोरम प्राकृतिक दृश्यसँगै त्यहाँबाट उत्तरतर्फ देखिने हिमश्रृंखला र दक्षिण तर्फको समथर फाँटले पर्यटकहरु आकर्षण गर्ने गरेको छ।
केही वर्ष पहिलेसम्म बुटवलदेखि साँघुरो जंगलको बाटो हुँदै जानुपर्नेमा पछिल्लो समय भने बुटवलको बेलवास शान्तिचोकदेखि पर्यटन मार्गहुँदै मोटरबाटोबाट ११ किलोमिटर यात्रा पछि नुवाकोट पुग्न सकिन्छ।
त्यस्तै नुवाकोट विकास समितिको पहलमा नेपाली सेनाले फूलबारीबाट निर्माण गरेको कर्णेल उजिरसिंह सिँढीमार्ग बाट करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको नुवाकोट गढीमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रुद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशूल तथा ऐतिहासिक रानीकुवा समेत रहेको छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण र रमणीय रहेको नुवाकोट क्षेत्रमा सरकारले सडक निर्माण गरेसंगै निजी क्षेत्रबाट गुरुयोजना सहित अर्बौंका योजना अगाडि सारिएका हुन् ।
छोटो दूरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ती मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिने लक्ष्य रहेको यहाँका लगानीकर्ता बताउँछन्।
बुटवलभन्दा यहाँको तापक्रम झण्डै ८ डिग्री सेल्सियस कम हुने गर्छ । बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु तथा नवलपरासीमा आउने पर्यटकलाई लक्षित गरेर योजना अगाडि बढेको हो ।
केबुलकारसँगै बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका कार्यहरुलाई गुरूयोजना भित्र समावेश गरिएको समितिको भनाई छ।
सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्वमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्व गरेको ईतिहास पाइन्छ ।
ऐतिहासिकसँगै सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने नुवाकोटबाट जितगढी किल्लासम्म पुग्न सुरुङ मार्ग भएको दाबी सहित खोजी गरिए पनि यसको पुष्टि भने भईसकेको छैन ।
बुटवल-नुवाकोट केबुलकारसँगै बुटवलको गोलपार्कदेखि पाल्पाकै बसन्तपुर डाँडामा पनि केबुलकार निर्माणको प्रक्रिया अगाडि बढेको छ।
बुटवल उपमहानगरपालिका वडा ३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा लुम्बिनी केबुलकार प्रालिले केबुलकार सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको हो।