चीनका तीन जना महिलाको टोलीले यही मार्च २२ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्। साङ यिङ हुङ, मा लियामु र सुन निङनिङको यो टोली चीनकै पहिलो 'एभरेस्ट एक्पिडिसन' महिला टोली हो।
चिनियाँ महिलाहरूको यो टोलीसँगै सगरमाथा आरोहण गर्ने राष्ट्रिय टोलीको संख्या चार पुगेको छ। यसअघि सिंगापुर, नेपाल र भारतका महिलाको टोलीले सगरमाथा आरोहण गरेका थिए।
सन् २०१४ मै टोली गठन गरेर सगरमाथा चढ्ने लक्ष्य गरेका यी महिलाको उद्देश्य 'चिनियाँ महिलाहरू पनि बलिया र बहादुर हुन्छन्' भन्ने सन्देश दिनु हो। यसअघि सन् २०१४ र २०१५ मा उनीहरूले प्रयास गरे पनि हिमपहिरो र भूकम्पका कारण असफल भएका थिए।
अहिले पाएको सफलतामा खुसी व्यक्त गर्दै उनीहरू भन्छन्, 'हामी चिनियाँ महिलालाई कमजोर ठानिन्छ। तर हामी कठिन वातावरणमा पनि गुलाफको फूल झैं फक्रिन सक्छौं। र, सगरमाथा पनि गुलाफ जत्तिकै संवेदनशील छ। हामीले यही सन्देश दिन खोजेका हौं। सफल भयौं।'
उनीहरू ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सिपिडसन कम्पनीका फुर्वा तेन्जिङ शेर्पा, पेम्बा छिरी शेर्पा, फुर्वा थिन्ले शेर्पा र मिङ्मा नुरू शेर्पाको सहयोगमा सगरमाथा चुचुरोसम्म पुगेका हुन्।
पछिल्ला केही वर्षमा सगरमाथा आरोहीको संख्या बढ्दै जाँदा वातावरणीय समस्या पनि चुलिएका छन्। यसबारे सचेतना फैलाउन यी महिलाले सगरमाथा आधार शिविरसम्मको यात्रामा बाटामा भेटिएका फोहोर पनि संकलन गरेका छन्। तीन जनाले करिब १० किलो फोहोर बटुलेर संकलन केन्द्रमा पुर्याएको उनीहरूको भनाइ छ। उनीहरूको यो कदम नेपाल सरकारले सुरू गरेको 'सगरमाथा सफाइ अभियान-२०१९' मा जनाइएको समर्थन हो।
यी तीन चिनियाँ महिला र नेपालकी कान्छी तामाङ नेपाल भ्रमण वर्ष-२०२० का सद्भावनादूत पनि हुन्। उनीहरूले भारतीय सगरमाथा आरोही कल्पना दाससँगै प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर गरेको भ्रमण वर्षको झण्डा सगरमाथामा फहराएका थिए। भारतीय आरोही कल्पना दासको भने सगरमाथाबाटै फर्कने क्रममा निधन भएको थियो।
नेपालको पर्यटन प्रवर्द्धनमा पनि साङ यिङ हुङ, मा लियामु र सुन निङनिङको टोलीले सघाउने प्रतिवद्धता जनाएको छ। उनीहरूले थप चिनियाँ महिलाहरूलाई सगरमाथा आरोहण गर्न प्रेरणा र तालिमहरू व्यवस्था गर्ने पनि जनाएका छन्।