काठमाडौंको चन्द्रागिरी नगरपालिका १३, कंकालीमा भ्युटावर बन्ने भएको छ।
भ्युटावरको प्रदेश नम्बर ३ का प्रदेश सांसद केशव पोखरेलले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।
भ्युटावरको लागि काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ, चन्द्रागिरी नगरपालिकाले एक करोड रुपैयाँ, प्रदेश नम्बर ३ को उद्योग, वन,पर्यटन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ रकम दिने भएका छन्।
कंकालीमा भ्युटावरसँगै पार्क, फुटट्रेल,विश्रामस्थल समेत बनाइने भएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद केशव पोखरेलले समग्र पर्यटकीय विकासमा प्रदेश सरकारले पर्यटकीय गन्तव्यको पहिचान गरी आर्थिक विकासको मोडेलमा लाने बताए।
उनले चन्द्रगिरी र नार्गाजुनलाई एउटै पर्यटकीय सर्किटको रूपमा विकास गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने बताए।
कार्यक्रममा बोल्दै चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका विकास,पर्यटन,पूर्वाधार सबै कुरामा एक नम्बर बनाउन लागेको चर्चा गर्दै समृद्ध नगरपालिको रूपमा विकास गर्न सबैको साथ र सहकार्यको खाँचो रहेको औंल्याए।
कार्यक्रममा बोल्दै चन्द्रागिरीको उपप्रमुख लिसा नकर्मीले हाम्रो नगरपालिका राम्रो नगरपालिकालाई बनाउन स्थानीयको भूमिका अतुलनीय हुने बताइन्।
उनले विकासलाई तीव्र बनाउन स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गरिनु पर्नेमा जोड दिइन्।
कार्यक्रममा बोल्दै कंकाली क्षेत्र पर्यटकिय पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष नवराज भट्टले कंकाली क्षेत्र र दहचोकलाई एकीकृत पर्यटनको मोडेलको रूपमा विकास गर्न सकिए आन्तरिक पर्यटनबाट समग्र चन्द्रागिरीको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताए।
अध्यक्ष भट्टले चन्द्रागिरीको ऐतिहासिक,पर्यटकीय महत्वलाई राष्ट्रिय स्तरमा मात्र प्रचारप्रसार गर्न सके नगरकोटभन्दा पनि राम्रो नयाँ गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
चन्द्रागिरी १३ मा सिटी टावर निर्माण भएपश्चात काठमाडौं उपत्यका नजिकबाट नियाल्नेहरूका लागि नजिकैको महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा विकास हुने अपेक्षा गरिएको छ।
भ्युटावर बनाउन अनुमानित लागत ५ करोड रुपैयाँ लाग्ने बताइएको छ।