प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा घोषणा गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
यही जेठ ४ गते बुद्धजयन्तीको अवसर पारी लुम्बिनी भ्रमण वर्षको औपचारिक रूपमा शुभारम्भ गरेको प्रदेश सरकारले दुई महिना पहिलेदेखि विभिन्न प्रचारात्मक कार्यक्रम सुरू गरेको हो।
प्रदेशभित्रै र प्रदेश बाहिर आयोजना हुने विभिन्न कार्यक्रमहरूमा प्रदेशबाट सहभागिता जनाउने सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरूले सर्वसाधारणलाई लुम्बिनी भ्रमणको निम्तो दिने गरेका छन्।
यसैबीचमा जर्मनीको ऐतिहासिक र प्राचिन सहर हेम्वर्ग पुगेका नेपालीहरूले राष्ट्रिय झण्डा फहराउँदै बुद्धजन्मस्थल लुम्बिनीको जानकारीसहित लुम्बिनी भ्रमण वर्षको निम्तो दिने गरेका छन्।
रोटरी इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जर्मनी पुगेका नेपाली रोटरीयनहरूले लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसारसँगै लुम्बिनी भ्रमणको निम्तो दिएका हुन्।
विश्वभरका रोटरीयनहरू जम्मा भएको हेम्वर्गमा पुगेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलगायत रोटरी क्लब अफ सेन्ट्रल बुटवलका पदाधिकारीहरूले लुम्बिनीको प्रचारप्रसारसँगै लुम्बिनी भ्रमण वर्षमा लुम्बिनी भ्रमणको निम्तो दिएका थिए।
रोटरी इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट विभिन्न क्लबका गरी करिब ७ सय रोटरीयनहरू जर्मनी पुगेका छन् भने विश्वभरबाट लाखौं रोटरीयनहरू सम्मेलनमा सहभागी छन्। उक्त सम्मेलनमा सहभागी हुन रुपन्देहीबाट झण्डै डेढ सय जना हेम्वर्ग पुगेका छन्।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष टंक पोखरेलले रोटरी इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनको सदुपयोग गर्दै विश्वभरबाट आएका रोटरीयनहरूका बीचमा लुम्बिनी भ्रमण वर्षको निम्तो दिएको बताए।
सरकारीस्तरबाट लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसारका विभिन्न कार्यक्रम भइरहेको अवस्थामा रोटरीयनहरूमार्फत् गरिएको प्रचारप्रसारले लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने विश्वास गरिएको छ।