नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ ।
मार्टको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए। उनले असिमिति पर्यटकीय प्रडक्डलाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताए। ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारलेसमेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने उनको विश्वास छ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए।
उनले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास,नतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । उनले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उर्पयुक्त नमुना भएको बताए।
मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ्ग आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभुति चन्द ठाकुरले जानकारी दिए । सम्मेलनमा नेपालसहित ४३ देशका करिब ७०० को सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ ।