प्रशस्तै पर्यटकीय संभावना बोकेर पनि ओझेलमा परेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले कन्सेप्ट नेपालले मुलुकका १५ जना लेखकहरुलाई त्यस क्षेत्रमा पदयात्रा गराएको छ।
असार ७ गते काठमाडौंबाट सुरु भएको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ का सहभागीहरु असार १२ गते फोक्सुण्डो ताल पुगेका थिए। त्यहाँ पुगेर उनीहरुले ताल क्षेत्रको अध्ययन गर्नुका साथै कविता पनि सुनाए।
काव्य यात्रीहरु डोल्पाको सुलिगाडबाट पदयात्रा गरेका हुन्। उनीहरु पदयात्राको तेस्रो दिन तालमा पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, बोन गुम्बाहरु, रिंग्मो र पुग्मो गाउँ तथा तालको भ्रमण गरे।
काव्य यात्रीले ताल किनार र तापिरिचा माविमा कविता सुनाएका थिए। त्यस्तै नुवाकोटे कलाकार कृष्णबहादुर नेपालीले तालमा बसेर बनाएको चित्र पनि प्रदर्शन गरिएको थियो।
यात्राकै सिलसिलामा आयोजकले रिग्मो र पुग्मो गाउँका चार जना लोकसंस्कृतिकर्मीलाई जनही दश हजार रुपैयाँ सहित फोक्सुण्डो काव्य सम्मान प्रदान गरेको थियो। ताल किनारमा आयोजित कार्यक्रममा टुङ्नाबादक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकायालाई सम्मान गरिएको काव्य यात्राका संयोजक अमृत भादगाउँलेले जानकारी दिए।
कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामा खेन्पो सेम्दुक निमा, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फूर्वा तेन्जिङ बुढाले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए। साथै आयोजक संस्थाका सदस्य देवेन्द्र बस्न्यातले खादा लगाएर सम्मान गरेका थिए।
यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, बिष्णुप्रसाद देवकोटा, अमृत भादगाउँले र सेम्दुक लामा सहभागी छन्।
यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिसन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र थासुङ छोलिङ गुम्बा लगायत छन्।