दाङ जिल्लाको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा बसेको छ यो ताल ।
मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । निकै आकर्षक यस तालमा पुग्दा लाग्छ आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको छ । आफ्नो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई तालले लोभ्याउने गरेको छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो ।
दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करीब दुई किलोमिटर पर पर्छ त्यो ताल । पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् ।
झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । तालको उत्तरतर्फ रहेका गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिरले पनि थप आकर्षण दिएको छ । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने गर्दछन् ।
अहिले वर्षात्को समयमा पनि ताल अवलोकन गर्ने र घुमघाम गरी त्यस क्षेत्रमा बनभोज खानेको ठूलो भीडा लाग्ने गर्दछ । दैनिक कम्तीमा पनि ३०० जनाको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक यहाँ आउने गरेको जखेरा ताल संरक्षण संस्थाका कर्मचारी विष्णुमाया बस्नेतले जानकारी दिए ।
वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन् ।
विष्णुमायाले भनिन्, 'ताल पुगेर डुङ्गा चढ्न पर्यटक निकै रमाउँछन् । एउटा मात्र डुङ्गा भएकाले पालो कुर्नपर्ने भएका केही समस्या छ ।'
एक जना पर्यटकले पूरै तालमा डुङ्गा चढेर जलविहार गरेमा ५० रूपैयाँ तथा मन्दिर दर्शनको लागि २० रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।
जखेरा तालको अवलोकन गर्न बर्दियाबाट आएकी ४७ वर्षीया कमला चापागार्इं आफू पहिलोपटक तालको अवलोकन गर्न आएको र यहाँको दृश्य देख्दा निकै आनन्दित भएको बताइन् । तालको सुन्दरतालाई बिग्रन नदिन र सफा स्वच्छ राख्नको लागि सबै लाग्नुपर्ने उनको सुझाव छ । तालको प्रचारप्रसार भएमा अझ धेरै पर्यटक भित्र्याउन सकिने कमला बताउँछिन् ।
ताल अवलोकन तथा घुमघाम गर्न तुलसीपुरबाट छोराछोरीसहित पुगेकी ३९ वर्षीया शारदादेवी ओलीले यसपटक ताल क्षेत्रमा निकै सुधार भएको देख्दा खुशी भएको बताइन् ।
आफू डेढ वर्ष पहिले पनि सो ताल घुम्न आएको बताउँदै यसपटक धेरै राम्रो भएको उनको प्रतिक्रिया छ ।
तालको सुन्दरता बढाउन स्थानीय तथा प्रदेश सरकारले भौतिक पूर्वाधारका लागि ध्यान दिनुपर्ने तुलसीपुरका डा किशोर खत्रीले बताए ।
'यस ताललाई मध्यपश्चिम क्षेत्रको फेवा तालको रुपमा विकास गर्न सकिने सम्भावना छ', उनले भने। ताललाई संरक्षण र सम्बद्र्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने उनको भनाइ छ ।
तालको छेउमा जाली, पर्यटकको लागि आवश्यक पर्ने पानी तथा शौचालय र फोहर व्यवस्थापनको उचित व्यवस्था गर्नुपर्ने खत्रीको सुझाव छ ।
जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका उपाध्यक्ष रामसिंह केसीले जखेरा तालको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए । उनले विगतमा धेरैको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताउँछन् ।
केही वर्ष अघिसम्म सो ताल जलकुम्भी झार र माटोले पुरिएको थियो, जिल्ला भूसंरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालयलगायतका सरकारी निकाय तथा नागरिकको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएको उपाध्यक्ष केसीको भनाइ छ।
ताल अवलोकन गर्न आउनेका लागि आवश्यक पर्ने शौचालय, खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षाको लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्नको लागि डुङ्गाको पर्याप्त व्यवस्था गर्नुपर्ने उपाध्यक्ष केसीले सुनाए । तालसम्म पुग्ने करीब डेढ किमी सडक कालोपत्र नहुँदा पनि वर्षाको याममा समस्या हुने गरेको भनाइ राखे ।
जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सहअध्यक्ष रविध्वज थापाले यसलाई धार्मिक र पर्यटनसँग जोड्ने आफूहरुको लक्ष्य रहेकाले अहिले प्रतिष्ठान बनाएको बताए । उनले बितेको आव २०७५-७६ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट १५ लाख र डिभिजन वन कार्यालय लमहीले नौ लाख रूपैयाँ रकम उपलब्ध गराएको जानकारी दिए ।
सो रकमबाट ताल क्षेत्रमा इन्टर लक, ड्रम लाइट, तालभित्र रहेको शिव मन्दिर परिसरमा १०० मिटर कालोपत्रे, ढुङ्गा चढ्ने ठाउँमा सिँडी, तालको दक्षिणतर्फ ७४ मिटर पक्की नाला निर्माण गरिएको छ । सहअध्यक्ष थापाले यसपटक प्रदेश नं ५ सरकारबाट ताल मर्मतसम्भार गर्न २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
लमही नगरपालिकाले ताल क्षेत्रमा डिपबोरिङका लागि यस वर्ष १५ लाख बजेट, वडा नं ५ मा नालाको लागि तीन लाख रूपैयाँ विनियोजन गरिएको छ । गत शिवरात्रिमा यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउन दुई दिनको महोत्सव पनि सञ्चालन गरेको बताए ।
केही समयअघि प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल पनि तालको निरीक्षण तथा अवलोकनमा गरेका थिए । यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको भन्दै उनी पनि निकै प्रभावित बनेका थिए ।
विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ निवासी स्व दिपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय वुद्धिजीवी मिलेर त्यतिबेलै आकाशेपानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने प्रयोजनमा चुरे पहाडको फेदमा कृतिम रुपमा खाडल खनेर जल भण्डारणको रुपमा राखिएको थियो ।
सोही ताल नै अहिले जखेरा तालको नामबाट परिचित छ ।
स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ । अहिले पनि यस तालको पानीको मुख्य स्रोत आकाशे पानी नै हो । अहिले भने पानी सफा र वरिपरिको पर्यावरणीय सुन्दरता पनि अर्को आकर्षण भएकाले यसलाई नै एक सुन्दर तालका रुपमा विकास र संरक्षण गरिएको छ ।
(राससका लागि नारायणी रजौरे)