पर्यटन विभागले बसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि अनुमति दिएका पर्वतारोही टोलीसँग आधार शिविर नपुग्ने १५ सम्पर्क अधिकृतलाई स्पष्टिकरण मागेको छ।
विभागले १५ दिनभित्र स्पष्टिकरण बुझाउन सम्पर्क अधिकृतलाई निर्देशन दिएको हो।
विभागको होटल, पर्वतारोहण तथा अनुगमन शाखाकी निर्देशक मीरा आचार्यका अनुसार २२ जना सम्पर्क अधिकृत खटाएको स्थानमा पुगेको विभागलाई जानकारी छ।
‘१५ जना सम्पर्क अधिकृत खटाइएको स्थान नपुगेको देखिन्छ,’ आचार्यले सेतोपाटीसँग भनिन्, ‘खटाएको स्थानसम्म पुग्नु भएको भए यथेष्ट प्रमाण तथा खटाएको स्थान पुगेर पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नुको प्रमाण पेश गर्न भनेका छौं।’
सन् २०१९ को बसन्तकालीन समयमा सगरमाथा आरोहण गर्न ४४ आरोहण टोलीलाई अनुमति दिइएकोमा ३७ विदेशी र सात टोली नेपाली थिए। ती टोलीलाई सहयोग गर्न विभागले ३७ जना सम्पर्क अधिकृतलाई खटाएको थियो।
भदौ १ गते बसेको मन्त्रिपरिषद बैठकले खटाइएको ठाउँमा पुगेर आफ्नो जिम्मेवारी निर्वाह नगर्ने सम्पर्क अधिकृतलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
तोकिएको समयभित्र प्रमाण पुग्ने र पछि फरक नपर्ने विवरण पेश गर्न विभागले आग्रह गरेको छ।
सगरमाथा आरोहणका लागि अनुमति पाएकालाई राज्यको प्रतिनिधिको रूपमा सम्पर्क अधिकृत खटाएको थियो। सम्पर्क अधिकृत बाटोमा लडेर घाइते हुँदा र लेक लागेर आधार शिविरसम्म पुग्न नसकेको विवरण समेत विभागमा प्राप्त भएका छन्।