प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण ट्रेकिङ गन्तव्य हो, पाँच पोखरी।
यही सुन्दरतालाई कैद गर्न हामी भदौ २७ गते काठमाडौंको जोरपाटीबाट पाँच पोखरी यात्रा सुरू गर्यौं।
बाटो केही अप्ठ्यारो भए पनि ग्रामीण जनजीवन र हरियाली हेर्दै यात्रा गर्दा बाटो कटेको पत्तै भएन।
पाँच पोखरी थान्गपाल गाउँपालिका प्रमुखको सहयोगमा जोरपाटीबाट ६ घण्टाको जीप यात्रापछि रैथाने पुर्यौं।
२८ गते रैथाने भोतान्ग छिम्तीपछि उकालो हुँदै टुप्पी डाँडा टप खर्केमा बास बस्यौं।
बाटोको अधिकांश भागमा ढुंगा ओछ्याइएकाले हिँड्न त्यति गाह्रो भएन।
मेलाका लागि सिन्धुपाल्चोक तथा आसपासका जिल्लाका साथै राजधानीबाट पनि थुप्रै मानिस पुगेका थिए। फाट्टफुट्ट विदेशी पनि उकालो चढिरहेका भेटिन्थे।
२९ गते अर्थात् जनैपूर्णिमाको दिन टपखर्क नोरसिन्गपाटी लौरिबिना हुँदै पाँचपोखरी पुर्यौं।
चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै स्थानमा पाँच वटा पोखरी छन्।
यात्राभरि इन्द्रावतीले सँगसँगै पछ्याइरहन्छ। जति माथि गयो, इन्द्रावती त्यति कञ्चन सेतो देखिँदै जान्छ।
पाँच पोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ।
पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ। स्थानीय भेषभूषा र आफ्नै भाषामा उनीहरूले झाँक्री नाच प्रदर्शन गर्ने गर्छन्। यही माहोललाई कैद गर्न हामी त्यसतर्फ प्रस्थान गरेका थियौं।
सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल हो पाँच पोखरी। इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड।
यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ।
पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ। जनैपूर्णिमाको दिन सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ।
पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ।
हेर्नुस् तस्बिरहरू :