बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि व्यवस्थित गर्न थालेको वडा नं. १६ बैठउलियास्थित कपरकट्टी तालमा डुंगा चल्न थालेका छन्।
पहिलेदेखि नै सानो पोखरीसहितको सिमसार र पानी जमेको स्थानलाई व्यवस्थित गरी उपमहानगरपालिकाले महत्वपूर्ण गन्तव्यका रूपमा विकास गरेको हो।
स्थानीयको अतिक्रमणमा पर्दै जाँदा यो ताल साघुरिँदै गएको थियो भने वरिपरि झाडीले ढाकिएको थियो। तर अहिले संरक्षण गर्न थालेपछि आकर्षक बनेको छ।
जलकुम्भी र झाडी सफा गरी चिटिक्क पारिएको तालमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार डुंगा सयरको शुभारम्भ गरेका हुन्। घुमफिरको संस्कृतिलाई समृद्धि, सद्भाव र एकतासँग जोडेर तीनै तहका बीचमा सहकार्यका साथ अभियान सञ्चालन गर्न जरूरी रहेको बताइएको छ।
थारु समुदायको बाहुल्यता रहेको सो गाउँमा थारु समुदायले नै प्रयोग गर्ने खानाका परिकार खुवाउन सके पर्यटकको आकर्षण बढ्न सक्नेछ।
ताललाई थप व्यवस्थित बनाउन वरिपरि हरियाली, फुटपाथसँगै मौलिक संस्कृतिका विश्रामस्थल बनाउने र त्यहाँसम्म पुग्ने बुटवल चक्रपथलाई अझ व्यवस्थित गरेर सञ्चालनमा ल्याइने भएको छ।
यो ताल प्राकृतिक सिमसार रहेपनि स्थानीयको अतिक्रमणमा पर्दै जाँदा सात बिघामा खुम्चिएको थियो। अहिले तालको क्षेत्र बढाएर २४ बिघा पुर्याइएको छ। अहिले यो ताल झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाइमा फैलिएको छ भने तालको गहिराई पनि करिब पाँच मिटर बनाइएको छ।
नील दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ। सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाएको छ।
उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १६ का अध्यक्ष रामप्रसाद रेग्मीका अनुसार उपमहानगरले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा ताल संरक्षणका लागि ४० लाख रुपैयाँ छुट्याउँदै पहिलो कामको सुरुआत गरेको थियो।
तालसँगै नजिकै रहेको नरेनापुर धाम परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी छ। यो ताल परिसरमा वन हाँस, वन कुखुरा र जलेवाजस्ता चराचुरुङ्गी समेत पाइन्छन्।
बुटवलका पर्यटकीय क्षेत्रका रूपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाइने बुटवल सहरी विकास महाशाखाले जनाएको छ।