कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटनक्षेत्र लयमा फर्किन कम्तिमा ३ वर्ष लाग्ने नेपाल पर्यटन वोर्डले अनुमान गरेको छ।
संसारभरकै पर्यटन ठप्प भएको अहिलेको अवस्थामामात्र होइन भ्याक्सिन तथा खोपको विकास नहुँदासम्म अन्तर्राष्ट्रिय पर्यटन फस्टाउने सम्भावना नभएकाले त्यो अवधि अझै लम्बिनसक्ने बोर्डले अनुमान गरेको छ।
नेपालको पर्यटन सन् २०१९को अवस्थामा पुग्नका लागि अझै तीन वर्ष लाग्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले जानकारी दिए।
अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुलेर सामन्य नहुँदासम्मका लागि सरकारले होटल रेष्टुरेन्ट तथा अन्य व्यवसाय बचाइराख्नका लागि आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने उनको धारण छ।
'हामीले त्यहीअनुसार सुझाव पनि दिइकसकेका छौ सरकारलाई। विश्वका धेरै देशमा हुने फुर्सद भ्रमण विदा दिन सकियो भने यो राम्रो हुन्छ' रेग्मीले भने।
यसका लागि नेपाल सरकारले आफ्ना कर्मचारीलाई भ्रमण विदा दिने र निजी क्षेत्रमा काम गर्नेलाई पनि प्रोत्साहन गर्नसक्ने उनको भनाइ छ।
सरकारले निश्चित रकम तोकेर त्यतिसम्म खर्च गर्नेलाई आयकर छुट दिनसक्ने उनको सुझाव छ। यसरी सरकारले नीति बनाएको खण्डमा वर्षेनी ५३ अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।
नेपाल पर्यटन वोर्डले गरेको सर्वेक्षणअनुसार यसरी सरकारले स्किम दिंदा कम्तिमा पनि १८ लाख नेपाली भ्रमणकै लागि निस्किने छन् देशभित्र। त्यसरी निस्किंदा ५० हजार रुपैयाँ खर्च गर्दा त्यसलाई कर छुट दिनुपर्ने दिंदा राज्यका लागि साढे ३ अर्ब घाटा लाग्ने रेग्मीको अनुमान छ।
तर ३ अर्ब रुपैयाँ खर्चमा उपभोक्ताले तिर्ने अप्रत्यक्ष करबाट ३ अरेब पूर्ति हुने र जम्मा ५० करोड जतिको क्षतिमा ५३ अर्ब रुपैयाँ बजारमा जाँदा त्यसले रोजगारी सिर्जनासँगै समग्र क्षेत्रकै अस्तित्व जोगिने रेग्मीको भनाइ छ।
बोर्डले गरेको अध्ययनअनुसार नेपालमा दर्ता भएर औपचारिक रुपमा सञ्चालन रहेका पर्यटन व्यवसायमा जम्मा २ लाख ७३ हजारमात्र प्रत्यक्ष रोजगार छन्। त्यस्तै समग्र क्षेत्रमा १ खर्ब ५० अर्ब लगानी भएको बोर्डको सर्वेक्षणले देखाएको छ।