कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाइन ६ महिनापछि शनिबारदेखि खुलेको छ।
फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले बताए।
क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरी २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरी ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए।
जिपलाइनसँगै फोटो-भिडिओ प्याकेजमा समेत छुट दिइएको थापाले बताए।
क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडिओको लागि ७ सय रुपैयाँ लाग्ने भए पनि हाल २ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडी) जिपलाइनमा फोटो र भिडिओको लागि एक हजार रुपैयाँ लाग्ने भए पनि हाल ३ सय रुपैयाँ कायम गरिएको छ।
साथै, धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए।
कोभिड-१९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक-एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए।
२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जिपलाइन सुरू भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ।
क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।
जिपलाइनसँगै ट्रि अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ।