कहाँ जाने भन्ने गन्तव्य निधो नभई पनि के हिँड्नु लाग्दो हो!
तर कहिलेकाहीँ गन्तव्य बिना हिँड्दा नसोचेको ठाउँ पुगिने रहेछ। हामीलाई केही दिनअगाडि त्यस्तै भयो।
हामी 'स्टोरी हन्ट' का लागि अफिसबाट निस्कियौं। सामाजिक विषय खोतल्ने योजना थियो। के खोज्ने, कहाँ खोज्ने निधो थिएन।
हाम्रो यात्रा झम्सिखेलस्थित अफिसबाट सुरू भयो। बाटो समेत टुंगो नगरेका हामी स्कुटरमा झम्सिखेल, अल्का अस्पताल हुँदै जावलाखेल-एकान्तकुना निस्कियौं। त्यहाँबाट रिङरोड समात्यौं।
एकाएक ‘कीर्तिपुर लागौं न त’ भन्ने ख्याल आयो। खासै त्यतातिर गइन्थेन पनि। कीर्तिपुर जान बल्खु हुँदै जानुपर्ने। पहिल्यै निधो गरेका भए यति लामो रिङरोड घुम्न पर्थेन होला! अफिसदेखि भित्री गल्ली हुँदै बल्खु वा कीर्तिपुरै निस्किन सकिन्थ्यो।
तै पनि रिङरोड घुम्दा सहरी गतिविधि नियाल्न पायौं। सरकारले कोरोना महामारी नियन्त्रणका लागि सवारीमा जोर-विजोर प्रणाली लागू गरेको छ। रिङरोडका चोकचोकमा ट्राफिकले रोकेर राखेका सवारी देख्यौं।
बल्खु पुगेपछि दक्षिणकाली रोड समात्न हामी बाँया लाग्यौं। अर्थात् त्रिभुवन विश्वविद्यालय जाने बाटोतर्फ।
अलि अघिसम्म कीर्तिपुर जाने भनेका हामी अझै अन्यौल थियौं। त्यसैले दक्षिणकाली रोड नछोडी चोभारतिर हुँइकियौं।
बल्खुबाट ३ किलोमिटर पार गरेपछि चोभार-पाँगा चोक पुग्दा-नपुग्दै गन्तव्य भेटिए झैं भयो- हरियाली डाँडा। सहरको अस्तव्यस्त वातावरणभन्दा केही पर मात्र यस्तो ठाउँ देख्दा जोकोही नयाँ व्यक्तिलाई रमणीय लाग्दो हो! हामीलाई त्यस्तै भयो।
चोकबाट दाँया मोडियौं। स्कुटर त्यहीँको वर्कसप छेवैमा बिसायौं। अनि पैदल यात्रामा लाग्यौं।
यसपछि हामी यस्तो ठाउँ पुग्यौं जुन हामीले कल्पना पनि गरेका थिएनौं- थाल, बटुका र अन्य भाँडाकुँडाले सजिएको आदिनाथ लोकेश्वर मन्दिर।
हाम्रा लागि बिल्कुलै नयाँ यो यात्राबारे माथि भिडिओ ब्लगमा समेटेका छौं।
हेर्नुहोला, अनि तपाईंहरू पनि सुरक्षित हुँदै दसैं बिदामा यहाँ जानुहोला!