नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गरिरहेको ह्यास फोटोनेपाल (#photoNepal) प्रदर्शनी अन्तर्गत धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटोको प्रदर्शनी मंसिर १६ देखि सुरू भएको छ। यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल मा अनलाइन गरिएको छ।
धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहुँच बढाउनसमेत यी संस्थाको पहलमा विविध कार्यक्रम भइरहेको छ ।
फोटोनेपाल पोर्टलमार्फत आह्वान गरी प्राप्त सय भन्दा बढी फोटोमध्ये छानिएका चालिसलाई प्रदर्शनीमा राखिएको छ। फोटो प्रदर्शनी मंसिर २५ सम्म हुने र त्यसपछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिनेछ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटोनेपालले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालमा जानकारी राखी धार्चेको पहुँच बढाउन अनुरोध गरेका छन्।