कोरोना भाइरसका कारण विगत ९ महिनादेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशी बञ्जी जम्प पुनः सञ्चालनमा आएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।
दी लास्ट रिसोर्ट एडभेन्चर प्रा.लि.का व्यवस्थापक कुमार राउतका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्नेछन्।
देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक एक सय जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले बताए।
बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बञ्जीका लागि स्वदेशीलाई छ हजार रुपैयाँ र विदेशीलाई नौ हजार दुई हजार रुपैयाँ दस्तुर लिने गरिएको छ ।
विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।
४० केजीदेखि १ सय केजीसम्मका व्यक्ति सामान्यतः बञ्जीका लागि योग्य मानिन्छन् । उच्च रक्तचाप, मधुमेह, दमलगायत निश्चित रोगका पीडित भने यसका लागि अयोग्य मानिन्छन् ।
आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने सोचसहित सन् १९९९ बाट साविक लिस्ती र मार्मिङ गाविस (अहिले भोटेकोसी गाउँपालिका) जोड्ने भोटेकोशीमा नेपालका विष्णु न्यौपाने र न्युजिल्याण्डका डेविट, एलाई र डाइस मिलेर सुरू गरेको १ सय ६० मिटर अग्लो साहसिक खेल बञ्जी यात्रा अहिले २१ वर्षमा पुगेको छ। स्थापनाका बेला विश्वको दोस्रो अग्लो बञ्जी स्थल अहिले आठौं नम्बरमा पर्छ ।
बञ्जी ब्ल्याक आउट : प्ल्याटफर्ममा पुगेपछिको त्यो क्षण