पछिल्लो समय युवाहरूको मन जित्न सफल पर्यटकीय तथा साहसिक खेल जीपलाइन बुटवलमा पनि सुरू भएको छ।
आकर्षक हरियाली सहितको पार्कका कारण पर्यटकीय गन्तव्य बन्दै गएको बुटवल हिलपार्कमा जीपलाइन सुरू गरिएको हो।
बुटवल आउने बाह्य एवं आन्तरिक पर्यटकहरूलाई जीपलाइनको अनुभव दिन सकियोस् भन्ने उद्देश्यले लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहले जीपलाइनको सुरूआत गरेको हो।
उक्त जीपलाइनको लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री गिरीले रुपन्देही धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले मात्र नभई पर्यटकीय हिसाबमा पनि विकास हुन लागेको बताए।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ कोरोना महामारीका कारण १० महिनायता सुस्ताएको बुटवलको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जीपलाइनले सघाउ पुर्याउने बताउँछन्।
लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहले हिलपार्क र उत्तरतर्फको डाँडोलाई जोड्ने गरी जीपलाइनको पूर्वाधार बनाएको छ।
वन उपभोक्ता समूहसँग सहकार्य गरी वाइल्ड वर्ल्डर्स नेपाल प्रालिले साहसिक खेल सञ्चालनमा ल्याएको हो।
साहसिक खेल पर्यटनमार्फत पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सामुदायिक वनसँग सहकार्य गरी जीपलाइन सञ्चालनमा ल्याइएको वाइल्ड वर्ल्डर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक राज कुमार श्रेष्ठले जानकारी दिए।
जीपलाइनबाट सुन्दर बुटवलको अवलोकन गर्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ।
डेढ करोडको लागतमा तयार भएको जीपलाइन दुईतर्फी गरी डेढ किलोमिटर लामो रहेको छ।
त्यस्तै, बालबालिकाको लागि लागि ९० मिटरको जीपलाइन तयार गरिएको छ।
लुम्बिनीमा आउने पर्यटकमध्ये साहसिक खेल खेल्न मन पराउनेका लागि हिलपार्कको जीपलाइन आकर्षक बन्न सकिने श्रेष्ठले बताए।
१५ महिनाअघि चितवन, ८ मंसिरमा गोदावरीमा जीपलाइन सुरू गरेका श्रेष्ठले तेस्रो आयोजना अनुसार बुटवलमा सञ्चालनमा ल्याएका हुन्।
जीपलाइन खेल साहसिक भएको र हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै ७ लाखको यात्रु बीमा गरेको छ।
पर्यापर्यटन प्रवर्द्धन कार्यविधि ०७५ अनुसार पहिलो चरणमा वनमा १० वर्षसम्म जीपलाइन सञ्चालन गर्न सकिने गरी सम्झौता भएको छ।
लक्ष्मी आर्दश सामुदायिक वन उपभोत्ता समूह ४,६का अध्यक्ष यम बहादुर थापाले जीपलाइन सञ्चालनपछि खेल पर्यटनको रूपमा हिलपार्क अगाडि बढ्ने उनले बताए।
जीपलाइनले आन्तरिक पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
शुभारम्भको दिन नै जीपलाइनको अनुभव लिएका कृष्ण कुमालले जीपलाइनमार्फत् बुटवल बजार र बजारमाथिको हरियाली जंगलको दृश्यले झनै आनन्दित बनाउने बताए।
युवाहरू बञ्जी जम्प, प्याराग्लाडिङ, जीपलाइनजस्ता साहसिक खेलप्रति आकर्षित हुने गरेकोले बुटवलमा पनि जीपलाइनको आवश्यकता भएको बताए।
फलामे डोरीलाई वारि र पारी दुई तर्फको डाँडामा रूखमा बाँधेर जीपलाइन बनाइएको छ।
डोरीको सहायतामा हिलपार्कबाट पल्लो डाँडातर्फ जाँदा केही सुस्त गतिमा जाने भए पनि फर्किंदा भने केही ओरालो भएको कारण गति छिटो हुने भएकोले अलिकति डर लाग्ने उनले बताए।