अघिल्ला वर्ष यो समयमा सौराहा यति धेरै व्यस्त हुन्थ्यो कि, भन्ने बितिक्कै होटलका कोठा पाउन पनि मुश्किल हुन्थ्यो। साँझपछि यहाँका पव, रेष्टुरेन्ट पर्यटकले भरिभराउ हुन्थे।
विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्यको परिचय बनाएको सौराहामा अंग्रेजी नयाँ वर्ष र क्रिसमसको आसपासमा आन्तरिक पर्यटकको आगमन पनि ह्वात्तै बढ्थ्यो।
यहीँ समयमा यहाँ विश्वकै ध्यान खिच्ने ‘अन्तर्राष्ट्रिय हात्ती महोत्सव’ आयोजना हुन्थ्यो। हात्तीको दौड, बनभोज, छावाहरुको रोमाञ्चक फुटबल खेल, गाडा, डुंगाको प्रतिष्पर्धा हेर्न हजारौं पर्यटक सौराहा पुग्ने गर्थे।
यहाँ देखाइने थारू संस्कृतिको प्रदर्शनीदेखि हात्तीसँग नुहाउने, हात्तीसँग हिँडेर वन डुल्ने, हात्ती चढेर एक सिंगे गैंडालगायतका वन्यजन्तु हेर्ने, डुंगा चढेर घडियाल गोहीको अवलोकन गर्ने, चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी गर्ने सम्मका गतिविधिले सौराहालाई पर्यटनसँग मजबुद तरिकाले जोडेको थियो।
कोरोना भाइरसको महामारीसँगै कोमामा पुगेको यहाँको पर्यटन केही समययता जुर्मुराउन त थालेको छ तर व्यवसायी ढुक्क हुन भने अझै सकेका छैनन्।
विगतमा विदेशीले भरिभराउ बन्ने होटल, पव, रेष्टुरेन्टहरुमा अचेल आन्तरिक पर्यटकहरु झुम्न थालेका छन्। ‘विदेशी पर्यटक आएकै छैनन्, कोरोना संक्रमणको डर कम हुन थालेपछि आन्तरिक पर्यटकहरु आउनेक्रम भने बढ्न थालेको छ,’ क्षेत्रीय होटल संघ नेपाल, सौराहाका अध्यक्ष दिपक भट्टराई भन्छन्, ‘व्यवसाय अब चल्यो भनेर ढुक्क हुने अवस्था त छैन तैपनि आशा भने बढेर गएको छ।’
अध्यक्ष भट्टराईकाअनुसार यो समयमा विगतमा दैनिक एक हजार जनासम्म पर्यटक सौराहा बास बस्नका लागि आउँथे। यसको ठूलो हिस्सा विदेशी पर्यटक हुन्थ्यो। भारतीय र चिनियाँ पर्यटक सबैभन्दा बढी आउँथे।
‘अहिले आन्तरिक पर्यटकमात्रै आउँछन्। अघिल्ला वर्ष आउने कुल पर्यटकको २० प्रतिशतसम्म आइरहेका छन्,’ उनले भने। उनकाअनुसार अहिले नाफा कमाउन सक्ने अवस्था आइनसके पनि व्यवसाय अघि बढाउन सक्ने अवस्थामा भने सौराहा पुगेको छ। ‘प्रायः व्यवसायहरु सञ्चालनमा आउन थालेका छन्, २५ प्रतिशतसम्म कामदारहरुलाई बोलाएर सेवा दिइरहेका छौं,’ उनले भने, ‘खर्च धान्नसक्ने अवस्थामा पुगिएको छ, बिस्तारै सुधारको अपेक्षा छ।’
संघका पूर्वअध्यक्ष सुमन घिमिरे नियमितिरूपमा नेपाल घुम्न आउने धेरै विदेशी पर्यटकले इमेल गरेर यहाँको अवस्था सोध्ने गरेको बताउँछन्। ‘नेपालको अवस्था के छ? फेरि आउन मन छ, अवस्था कहिले सहज होला भन्ने जिज्ञाशा राख्छन्,’ घिमिरेले भने, ‘सँधै यस्तै अवस्था रहँदैन, सुधार हुँदैछ भन्ने गरेका छौं।’
उनले केही व्यवसायीलाई लकडाउनका कारण अघि बढ्न सकस भइरहे पनि कतिपयले भने यसलाई अवसरका रूपमा अँगालेको बताए। ‘मर्मत, पुनर्निर्माण, नयाँ संरचना निर्माण गर्न चाहनेहरुका लागि त लकडाउन अवसर पनि बनेको छ,’ उनले भने, ‘केही समयमा पुरानै लयमा फर्कन्छ भन्ने आशाका साथ लगानी थप्ने र नयाँ लगानी गर्नेक्रम पनि देखिन्छ।’
हरेक वर्ष गर्ने गरिएको अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता यसपटक कोरोना भाइरसले निम्त्याएको अवस्थामा सुधार आएपछि गर्नेगरी सारिएको छ। आन्तरिक पर्यटकले हात्ती सफारी गर्ने क्रम भने बढ्न थालेको छ।
यस आर्थिक वर्षमा करिब १० हजार जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। पर्यटकबाट निकुञ्जले एक वर्षमै ३४ करोड रुपैयाँसम्म राजश्व संकलन गर्ने गरेको थियो।
सौराहामा हात्ती र डुंगा सफारीमा बढ्दै पर्यटक
सौराहाका घरपालुवा हात्तीहरुलाई जंगलसफारी गराउने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङकाअनुसार औषतमा दैनिक ५० जनासम्म पर्यटकले हात्ती सफारी गर्ने गरेका छन्। यो संख्या विगतका वर्ष भन्दा केही कम हो।
‘विगतमा हात्ती सफारीमा विदेशीहरु धेरै रमाउँथे, उनीहरु आउनेक्रम रोकिएपछि आन्तरिक पर्यटकको मात्रै भर भएको छ,’ उनले भने, ‘पहिले भ्याई नभ्याई हुने हात्ती अहिले पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ।’
अध्यक्ष तामाङकाअनुसार विगतमा हात्ती सफारीबाटमात्रै एक करोड रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। ‘तर यस वर्ष १५ लाख कमाउन पनि मुस्किल छ,’ उनले भने। यहाँ अहिले ४० वटा हात्तीले जंगलसफारी गराउँछन्।
डुंगा सफारीमा भने पर्यटकको आकर्षण बढ्दोक्रममा रहेको तामाङले बताए। यस वनले बुढी राप्तीमा करिब ४ किलोमिटर दुरीमा डुंगा सफारी गराउँछ। यहाँ डुंगा चढेर घडियाल, मगर गोही तथा चराचुरुङ्गीहरुको अवलोकन गर्न पाइन्छ।
‘बिस्तारै चहलपहल बढ्न थालेको छ,’ उनले भने, ‘क्रिसमस र नयाँ वर्षमा पर्यटक बढ्ने आशाका साथ तयारी भइरहेको छ।’ उनले लकडाउनका कारण पर्यटकीय चहलपहल बन्द हुँदा वन र वन्यजन्तुको संरक्षणमा भने सकरात्मक प्रभाव परेको बताए।
‘यो अवधिमा हामीले घाँसे मैदानको राम्रो व्यवस्थापन गरेका छौं, मानव चाप घट्दा जनावरको संख्या बढेको छ,’ तामाङ भन्छन्, ‘कोरोनाले ल्याएको केही सकरात्मक पाटोहरु पनि छन् जसले भविष्यमा पर्यटन विकासमा निकै सहयोग पुर्याउँछ।’
यहाँ विदेशी पर्यटक भने आगामि वर्षको मध्य देखिमात्रै आउने आँकलन गरिएको छ। ‘हामी अहिले आन्तरिक पर्यटकहरुलाई नै लक्षित गरेर प्रचारप्रसार गरिरहेका छौं,’ क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले भने, ‘२० देखि ३० प्रतिशतसम्म छुटको प्याकेज चलिरहेको छ, थप प्याकेज पनि ल्याउने तयारीमा छौं।
उनले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले प्रचारका लागि व्यवसायीहरु केही दिनमै वीरगञ्ज, जनकपुर र विराटनगर जान लागेको बताए। ‘हामी अन्य ठाउँमा पनि पुगेर यहाँको अवस्थाको बारेमा जानकारी गराउँछौं,’ उनले भने, ‘घुमौं सौराहा अभियान नै सञ्चालन गर्दैछौं।’
पटिहानीको अम्रेला स्ट्रीट, मेघौलीको होमस्टे
वन र वन्यजन्तुको अवलोकन गर्नका लागि चितवनमा सौराहा बाहेक पटिहानी र मेघौली क्षेत्रमा पनि पर्यटकहरु पुग्ने गर्छन्। पटिहानीमा गत वर्ष सञ्चालनमा आएको ‘अम्रेला स्ट्रीट’ मा केही महिनायता पर्यटकको चाप बढ्दो छ।
राप्ती नदीको किनारमा रहेको अम्रेला स्ट्रीटका कारण किनारमा लहरै सञ्चालनमा आएका होटल तथा रेष्टुरेन्टहरुको व्यस्तता बढ्न थालेको छ। यहाँ करिब एक दर्जन ठूला होटलहरु छन्। चितवन निकुञ्जको हेडक्वार्टर कसराको ठीक वारी रहेको यस क्षेत्र केही वर्षयता चितवनमा पर्यटकको चहलपहल बढी हुने गन्तव्यमा पर्छ।
पर्यापर्यटनका लागि चर्चित मेघौली पनि पर्यटकको रोजाईको गन्तव्य हो। विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको यस ठाउँमा कुनै समय विदेशी पर्यटककै लागि भनेर विमानस्थलसमेत सञ्चालनमा ल्याइएको थियो।
चितवन निकुञ्ज भित्र वर्षौंसम्म सञ्चालनमा रहेको होटल टाइगर टप्समा आउने भिआइपी पाहुनाहरुका लागि भनेर मेघौलीमा विमानस्थल नै सञ्चालन गरिएको थियो। उक्त विमानस्थलमा अहिले नेपाली सेनाको जहाजले प्याराग्लाइडिङ सिकाउँछ।
निकुञ्ज भित्रको होटल टाइगरटप्स सरकारको निर्णयले बन्द गरिएपछि बाहिर सुविधासम्पन्न होटलहरु खुल्न थालेका थिए। ती होटल तथा होमस्टेहरुमा पर्यटकको उपस्थिति राम्रै देखिन्छ।
यस क्षेत्रमा आधा दर्जन भन्दा बढी ठूला होटलहरु छन्। विदेशी पर्यटकलाई लक्षित गरेर खोलिएका बाराही, सेराई, वाइल्डलाइफ स्यानच्यूरीलगायतका होटलहरुले अहिले आन्तरिक पर्यटकको स्वागत गरिरहेका छन्।
होटल वाइल्डलाइफ स्यानच्यूरीका सञ्चालक सुवोध प्रधान केही समय यता पर्यटकीय गतिविधिहरु बढ्न थालेको बताउँछन्। ‘विदेशी पर्यटक नै आउन त समय लाग्ला, केही दिन देखि आन्तरिक पर्यटकहरु भने आउन थालेका छन्, यसले केही समयमा पर्यटन क्षेत्र पुनः लयमा फर्कने आशा देखाएको छ’, उनले भने।
यहाँ रहेका एक दर्जन बढी थारु तथा कुमाल होमस्टेहरुमा पनि चहलपहल बढ्दै गएको होमस्टे सञ्चालक सोमलाल महतोले बताए। नारायणी र राप्ती नदीको दोभान ‘गोलाघाट’ बाट देखिने आकर्षक सूर्यस्तको दृष्यले पर्यटकको मन लोभ्याउने गर्छ।
वाइल्डलाइफ पर्यटनको गन्तव्य मानिने सौराहा, पटिहानी र मेघौलीलाई जोड्न पर्यटकीय रुट पनि तयार छ। पर्यटन व्यवसायीहरुले सौराहा देखि जिप वा साइकलमा मेघौली पुग्ने प्याकेजसमेत तयार पारेका छन्।
सहरमा भाइरसको भयले ग्रामीण पर्यटनमा थप आकर्षण
कोरोना भाइरसको भयले सहरका पर्यटकीय क्षेत्रहरु ठप्प रहँदा पनि ग्रामीण क्षेत्रका गन्तव्यमा भने फाट्टफुट्ट पर्यटक पुग्ने गरेका थिए। बाईसे–चौबीसे राज्य एकीकरणको समयमा सन् १८०० ताका अंग्रेज फौलाई रोक्न बाहदुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको किल्ला मानिएको चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा उचाईमा रहेको सिराइचुलीलगायतका क्षेत्रमा पर्यटकको अकर्षण बढ्दो छ।
कालिका नगरपालिकाको शक्तिखोरबाट करिब ४५ मिनेटमा पुगिने उदरदाङगढीमा यातायातका साधन सहजरुपमा पुग्न थालेपछि पर्यटक बढेका छन्। सडक स्तरीय नहुँदा लकडाउन अघि यहाँ पुग्न सहज थिएन।
‘अहिले सडक राम्रो भयो, पर्यटक पनि त्यही अनुसार बढेका छन्,’ स्थानीय पर्यटन व्यवसायी गणेश गुरूङले भने, ‘इतिहास बुझ्न र स्वच्छ हावा, पानी, ग्रामीण संस्कृति, रहनसहन, खानाबारे जान्न पनि धेरै युवाहरु यहाँ आउन थालेका छन्।’
होमस्टेमात्र रहेको उदरदाङगढीमा दैनिक ५० जना भन्दा बढी पर्यटकहरु पुग्छन्। कतिपय पर्यटकहरु यहाँबाट पैदल यात्रा गर्दै सिराइचुली पनि पुग्ने गरेका छन्।
यस बाहेक नारायणी नदीमा मोटर बोट चढ्नेदेखि देवघाट क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको संख्या पनि कोरोना संक्रमणको संख्या घट्न थालेसँगै बढ्दै गएको छ।