संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका मनाइने बताएका छन्।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार राजधानीमा आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा नगरे पनि सन् २०२१ नेपालका लागि आन्तरिक पर्यटन वर्ष भएको बताएका हुन्।
'त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको हो' उनले भने।
नेपालको अर्थतन्त्रमा ८० अर्व बराबरको विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’
आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि दुई दिने विदाको अवधारणा अघि ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताए।
‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं’ उनले भने ‘हिजो असफल
भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिँदै जाँदा सफल पनि हुन्छ ।’