धौलागिरिको मुस्कान, अर्गानिक परिकार र गाउँलेको आत्मीयताले लोभ्याउँछ। म्याग्दीको झाँक्रीपानीमा १५० रूपैयाँमा सादा खाना, २० रुपैयाँमा चिया र ६० रूपैयाँ बोतलमा रक्सी पाइन्छ।
थोरै खर्चमा सुन्दर ठाउँ ठाउँ घुम्ने योजनामा हुनुहुन्छ भने तपाईँका लागि झाँक्रीपानी उपयुक्त गन्तव्य बन्न सक्छ। मंगला गाउँपालिका–३ झाँक्रीपानी (२,२८० मिटर) मा शरीर र मन रमाउने धेरै कुरा छन्। हिमाली लर्कन, अर्गानिक खाना र आत्मीय व्यवहार पाइने भएकाले अचेल झाँक्रीपानी धेरैको रोजाइमा परेको छ।
गाउँबाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरी र माछापुच्छ्रे हिमालको लर्कन देखिन्छ। झाँक्रीपानी आफैंमा सुन्दर फूलबारी हो जहाँ मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्यालका ६० घर छन्।
मगर संस्कृति, ग्रामीण जीवनशैली, चराको चिरबिर र ऐतिहासिक सम्पदाको आकर्षणले लोभ्याउँछ। त्यसमाथि मनै खोलेर स्वागत सत्कार गर्ने गाउँलेको संस्कृति त छँदैछ। साथमा गाउँलेहरूले स्थानीय उत्पादनका परिकार खुवाउँछन्। त्यो पनि सस्तो मूल्यमा। गाउँको सामुदायिक होमस्टेमा बस्दा सादा खानाको १५० रुपैयाँ, चियाको २० रूपैयाँ, रक्सी बोतलको ६० रुपैयाँ, खाजाको १०० रुपैयाँ तिरे पुग्छ।
गाउँको होमस्टेमा दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ। झाँक्रीपानी क्षेत्रको थर्पुमा कोटघरमा कोटघरमा पुराना हतियार खुँडा, तरबार र माटोका गाग्रा छन्। थर्पुमा जेठको तेस्रो मंगलबार धुले मेला लाग्छ।
गाउँपालिकाको सहयोगमा गाउँमा तीन तले भ्यू टावर बनाइएको छ। गाउँका २२ घरमा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ जहाँ एकै पटक ५० जना बास बस्न सक्छन्। पाहुनाले चाहेमा गाउँलेहरू मौलिक नाचगान पनि देखाउँछन्।
पर्यटन अभियन्ता, गाउँले र मंगला गाउँपालिकाको सक्रियतामा झाँक्रीपानीले पर्यटन गाउँको चिनारी बनाएको हो। गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसी भन्छिन्, ‘हामीले टोड्के र झाँक्रीपानीको पर्यटन विकासलाई प्राथमिकता दिएका छौं। चाँडै हामी दुवै ठाउँको पर्यटन प्रवर्धन हुने किसिमका प्रवर्धनात्मक प्रचार सामाग्री उत्पादन गर्दैछौं।’
झाँक्रीपानी प्रवर्धनमा गाउँपालिकाका साथै उद्योग वाणिज्य संघ म्याग्दीका उपाध्यक्ष एवं पर्यटन अभियन्ता राजेश शाक्य पनि सक्रिय छन्। ‘हयाङ्आउट हुने हिलस्टेशनका रुपमा हामी झाँक्रीपानीको विकास गर्दैछौं’, उनी भन्छन्, ‘गाउँलेको आत्मीयता र अर्गानिक परिकार भुल्नै सकिँदैन।’
साँच्चै स्वर्गकै एउटा टुक्रा हो झाँक्रीपानी, जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ।
यसरी पुगौः काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा । बेनी–झाँक्रीपानी २४ किमि, जीपमा दुई घन्टा । बेनीबाट दिउसो ४ बजे बस छुट्छ । बस दुर्दीसम्म पुग्छ, दुर्दीबाट ४५ मिनेट हिँडे झाँक्रीपानी पुगिन्छ । जीप झाँक्रीपानीसम्मै पुग्छ ।
सम्पर्कः
झाँक्रीपानी सामुदायिक होमस्टे
मंगला गाउँपालिका–३, म्याग्दी
कोमल थापा–९८४७४४८७२९
थप तस्बिरहरू