बर्दिया राष्ट्रिय निकुञ्जमा ५ प्रजातिका नयाँ चरा भेटिएका छन्। नेचर गाइड दिपक राजबंशीको टोलीले हालै निकुञ्जको उत्तरी भेकमा गरेको अध्ययनले नयाँ चरा फेला पारेको हो।
यसरी पत्ता लगाइएको चराहरूमा पंखथोप्ले तितु, नेपाल फुलबुट्टा, कालिकण्ठे चिचिलकोटे, सुन्तलाकोखे रबिन र मुसे लेक चरी छन्।
‘हामीले आवश्यक तस्बिरसहितको जानकारी निकुञ्ज र पंछी संरक्षण संघलाई पनि दिइसकेका छौं’, राजबंशीले भने, ‘निकुञ्जमा अब चराका प्रजाति ५२१ पुग्यो। यो हाम्रा लागि ठूलो उपलब्धि हो।’
राजबंशीको समूहले निकुञ्जको तेलपानीदेखि लेकगाउँ, शुक्रमालाहुँदै राजकाँडासम्म ५ दिन अध्ययन गरेको थियो। उनको समूहका सदस्यहरूमा डेविड शाही, कृष्ण थापा, साइमन चौधरी, गौरब चौधरी, सन्दिप चौधरी र संरक्षण चौधरी थिए। उनीहरूले मंसिर ३० देखि पुस ४ गतेसम्म स्थलगत अध्ययन गरेका हुन्।
अध्ययन टोलीलाई बर्दिया प्रकृति संरक्षण क्लब र चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले सहयोग गरेको थियो।