पोखरा–कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी शाखाले कास्की, पर्वत र बागलुङका गाउँहरूको भ्रमण गरेको छ।
उसले सुस्ताएको गाउँ पर्यटनलाई पुनर्जीवन दिन सामुदायिक होमस्टे सञ्चालकहरूलाई भेटेर उत्साह बढाएको हो।
नेपाल पर्यटन बोर्ड गण्डकी शाखाको सहयोगमा मञ्चले पुस ११ गतेदेखि १४ गतेसम्म बागलुङका शिवधुरी, रिघा, तमान र ढोरपाटन क्षेत्रको अध्ययन गरेको हो भने पर्वतका लब्सीबोट र भुकदेउराली गाउँको। त्यस्तै कास्कीको लुम्ले र ह्याङ्जाकोट पुगेर भ्रमण दलले गाउँलेहरूसँग अन्तरक्रिया गर्यो।
भिटोफ टोलीलाई गाउँलेहरूले फूलमाला र बाजागाजासहित मन खोलेर स्वागत गरेका थिए। उनीहरूले अर्गानिक परिकार खुवाएका थिए। टोलीले रिघा, ढोरपाटन र लप्सीबोटमा रात विताएको थियो। उनीहरूलाई स्थानीय होमस्टे र आमा समूहले सहयोग पुर्याएका थिए।
टोलीले होमस्टे सञ्चालक र जनप्रतिनिधिसँग अन्तरक्रिया गरेर गाउँलेको समस्या बुझेको छ।
‘हाम्रो भ्रमणले गाउँलेमा उत्साह थपिएको छ’, भ्रमण कार्यक्रमका संयोजक एवं भिटोफ गण्डकीका उपाध्यक्ष सूर्यनाथ पहारीले भने, ‘हामी फेरि अरू गाउँहरू पनि घुम्नेछौं।’
बिहुँकोटसम्म पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले साथ दिएका थिए। त्यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले भने सबैतिर पुगेर भ्रमण दल र गाउँलेको हौसला बढाए।
भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारीले होमस्टेका अध्यक्ष र जनप्रतिनिधिलाई मायाको चिनो दिएका थिए।
यस अघि पुस ११ गते पोखराको फेवाताल किनारमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले शुभकामनासहित भ्रमण शुभारम्भ गरेका थिए।
भ्रमण टोलीको हौसला बढाउन भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी पनि शुभारम्भ कार्यक्रममा उपस्थित थिए।
भ्रमण दलमा काशीराज भण्डारी, केदारनाथ शर्मा, नवराज पहारी, कृष्णकुमार श्रेष्ठ, गोपीबहादुर भट्टराई, कृष्ण भण्डारी, कृष्ण काफ्ले, शेषकान्त शर्मा, नवराज अधिकारी, सूर्यनाथ पहारी, शुसिल पौडेल, उदय सुवेदी, दिपकराज पौडेल, परशुराम शर्मा, बासुदेव पौडेल, रुपनारायण ढकाल, पुष्प दाहाल, चुडामणि छन्त्याल, धर्मसिंह लामिछाने र अमृत भादगाउँले सहभागी थिए।
नेपालमा गण्डकी प्रदेशबाट होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास सुरू भएको इतिहास छ।
भारतीय सेनाका रिटार्यड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाइमा स्याङ्जाको सिरुबारीबाट सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटन शुभारम्भ गरिएको थियो।
विसं २०५४ असोजमा सिरुबारीलाई नेपालकै पहिलो नमूना पर्यटन गाउँ घोषणा गरिएको थियो। आज सिरुबारीको सिको गर्दै मुलुकभर होमस्टेको लहर छाएको छ।
कोभिड–१९ ले निराशा छाएका बेला गाउँ पर्यटनमा लाग्नेहरूको हौसला बढाएर भिटोफ गण्डकीले सकारात्मक योगदान पुर्याएको छ।
यहाँ भिटोफ गण्डकीले भ्रमण गरेका गाउँहरूको चर्चा गरिएको छ।
१. बिहुँकोट
बागलुङको काठेखोला गाउँपालिका–५ पर्दछ बिहुँकोट।
गाउँमा मगर, दलित र ब्राम्हण समुदायको बसोबास छ। गाउँबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल छर्लंग देखिन्छ। गाउँको सिरानमा शिवधुरी छ।
मध्य पहाडी लोकमार्गसँग जोडिएको गाउँका ११ घरमा होमस्टे सुविधा छ। मगर, बाहुन र दलितका घरमा सञ्चालित होमस्टेमा पाहुनालाई अर्गानिक परिकार खुवाइन्छ।
पाहुनाको माग अनुसार साँस्कृतिक कार्यक्रम पनि देखाइन्छ। सांस्कृतिक कार्यक्रममा पन्चै बाजा, सोरठी, ख्याली र चुड्का समावेश हुन्छ।
सम्पर्क
शिवधुरी सामुदायिक होमस्टे, बागलुङ
सचिव, प्रेम पुन–९८४७६३३२४९
२. रिघा
प्रकृति र संस्कृतिको दोभान मानिन्छ गल्कोट नगरपालिका–११ को रिघा गाउँ। डाँडाको थाप्लोमा रहेको बस्ती उज्यालो छ। चारैतिर हरिया डाँडापाखा, शितल हावापानी, ग्रामीण जीवनशैली र मगर संस्कृति पाइन्छ गाउँमा।
सूर्योदय अवलोकन, बर्ड वाचिङ, हाइकिङ र साइक्लिङका लागि गाउँ आकर्षक छ।
उचाइमा रहेको गाउँमा फराकिलो मैदान छ। मैदान मुन्तिर प्राचीन पोखरी पनि छ। गाउँनजिकै बौद्ध चैत्य छ। गाउँमा भर्खंरै होमस्टे सुरू गरिएको छ। त्यहाँ आमा समूहले सोरठी, कौरा र घाँटु नाच देखाउँछ।
सम्पर्क
गल्कोट नगरपालिका, बागलुङ
उपमेयर, रेनुका काउचा–९८५११४०८७९
३. ढोरपाटन
नेपालको एक मात्र शिकार आरक्ष हो–ढोरपाटन। आरक्ष धौलागिरि हिमश्रृंखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर छ। आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भएको हो। यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमाल छन। आरक्ष २,८५० मिटरदेखि ५,५०० मिटर उचाईमा फैलेको छ।
ढोरपाटन नगरपालिका–९ मा आरक्ष मुख्यालय नजिकै गाउँका पाँच घरमा पाखाथर सामुदायिक होमस्टे सञ्चालित छ। विसं २०७६ मा होमस्टे दर्ता गरिएको हो। त्यहाँ ५० जना एकै पटक बास बस्न सक्छन्।
सम्पर्क
पाखाथर सामुदायिक होमस्टे, ढोरपाटन
अध्यक्ष, पुनम बुढा मगर–९८६७३१३४२१
४. लप्सीबोट
पर्वत जिल्लाको मोदी गाउँपालिका–१ मा पर्दछ लप्सीबोट। लप्सी धेरै फल्ने गाउँ। गुरुङ, जीवनशैली र संस्कृतिका लागि लप्सीबोट कहलिएको छ। गाउँलेहरू आत्मीय र फरासिला छन्। गाउँ शान्त र शितल छ। गाउँबाट दुई घन्टा उकालो चढेमा भमरकोट मन्दिर पुगिन्छ जहाँबाट झलमल्ल अन्नपूर्ण हिमश्रृंखलाको दर्शन मिल्छ।
गाउँमा विसं २०७५ मंसिरदेखि होमस्ट सुविधा दिन थालिएको हो त्यहाँका १० घरमा एकै पटक ५० जना बास बस्न सक्छन्। गाउँलेहरू पाहुनालाई लोकल परिकार खुवाउँछन्।
सम्पर्क
लप्सीबोट सामुदायिक होमस्टे, पर्वत
अध्यक्ष, बिष्णुकमारी गुरुङ–९८६२४३६१३४
५. भुक देउराली
घमाइलो गाउँ हो–भुक देउराली। मोदी गाउँपालिका–१, पर्वत जिल्लामा पर्दछ गाउँ (१,७९०मिटर)। गुरुङ र दलित समुदायको बसोबास रहेको गाउँबाट अन्नपूर्ण साउथ हिमाल देखिन्छ।
गाउँबाट एक घन्टा पदयात्रामा थामडाँडा र डेढ घन्टामा भमरकोट मन्दिर पुगिन्छ। यी दुवै ठाउँबाट धौलागिरि, अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देखिन्छ।
भमरकोटले मनकामना पूरा गरिदिन्छन्। गाउँमा बराह मन्दिर र बौद्ध चैत्य छ। त्यस्तै विसं २०७५ मंसिरदेखि गाउँका १० घरमा होमस्ट गराउन थालिएको छ। होमस्टेमा अर्गानिक परिकार पाइन्छ।
सम्पर्क
भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टे
अध्यक्ष, टेकबहादुर गुरुङ–९८४६८१०९२९
६. ह्याङ्जाकोट
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्दछ ह्याङ्जाकोट। पोखरा बजार नजिकै रहेको ह्याङ्जाकोट (१,७०० मिटर)बाट अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे र लमजुङ हिमालसम्मको श्रृंखला देखिन्छ।
गाउँमा गुरुङ, दलित, मगर र ब्राम्हण समुदायको बसोबास छ। गाउँका १६ घरमा होमस्टे सुविधा छ। त्यहाँ विसं २०६४ देखि होमस्टे शुभारम्भ गरिएको हो। गाउँलेहरू अर्गानिक खाना खुवाउँछन्। सांस्कृतिक कार्यक्रममा तमू नाच र चुड्का देखाइन्छ।
सम्पर्क
ह्याङ्जाकोट सामुदायिक होमस्टे, कास्की
सल्लाहकार–खड्गबहादुर गुरुङ–९८४६२८२८९९