जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स -टीआरटीएफ नेपाल) ले मंगलबारबाट पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम सुरू गरेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू -स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले प्रशिक्षण दिएका हुन्।
यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दाङ, बाँके, सुर्खेत, र कैलाली गरी यहीँ फागुन १ गते धनगढीमा सम्पन्न हुनेछ ।
नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकामा पाँच जना प्रशिक्षक तैयार गरी उनीहरु मार्फत प्रत्येक नगरपालिकामा पर्यटनसँग सम्बन्ध राख्ने २५० जना स्थानीय साना तथा मझौला उद्यमीलाई प्रशिक्षित गरिनेछ।
यस अभियानको प्रारम्भिक योजना अनुरूप पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिनेछ।
विगत देखिनै सरसफाई र स्वच्छता प्रमुख चुनौती रहेको र कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुन्दर छवी स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमुना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महाप्रबन्धक लक्ष्मण थापाका अनुसार धेरै सरल तरिकाले पर्यटन र पर्यटकलाई कसरी सजिलो र सुरक्षित तरिकाले सेवा प्रदान गर्ने र हरेक पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसायमा लागू गर्नुपर्ने तरिकाहरुको बारेमा सहभागीले धेरै सुक्ष्म तरीकाले बुझ्न र सिक्न पाएको बताए।
उनले तालिमबाट सिकेका तौर तरिकालाई स्वच्छ नेपाल सफा नेपाल अभियानको रुपमा प्रवद्र्धन गर्ने अठोट व्यक्त गरे।