कोरोना भाइरसका कारण लकडाउन भएसँगै पर्यटक चहलपहल ठप्प भएको नेपालको पहिलो नुमना पर्यटन गाउँ सिरुबारी फेरि पर्यटकका लागि खुल्ने भएको छ।
माघ २७ गते मंगलबारदेखि स्वदेशी तथा विदेशी पर्यटकका लागि सिरुबारी खुला गरिएको स्थानीय पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जुम गुरुङले जानकारी दिएका छन्।
ग्रामीण जीवनशैली र गुरुङ संस्कृतिका लागि संसारमै ख्याती कमाएको स्याङ्जाको सिरुबारी ‘गाउँ पर्यटनको पाठशाला’का रुपमा स्थापित भएको छ जहाँका १७ घरमा होमस्टे सुविधा छ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा विसं २०५४ सालमा सिरुबारीलाई होमस्टे सुविधासहितको नमुना ग्रामीण पर्यटन गन्तव्य घोषणा गरिएको थियो। त्यसैले नेपालको ग्रामीण पर्यटनको शुत्रधार एवं नायक हुन् रुद्रमान ।
सिरूबारीको सिको गर्दै मुलुकभर होमस्टे खुलेका छन्। बाहिरका होमस्टे सञ्चालकहरू अध्ययन गर्न सिरुबारी पुग्छन् भने पर्यटकहरू आत्मीय सत्कार, प्राकृतिक सौन्दर्य र गुरुङ संस्कृतिको स्वाद चाख्न। सिरुबारीका गाउँलेका आँखामा आत्मीयता र व्यवहारमा हार्दिकता एवं इमान्दारी पाइन्छ।
समितिले आइतबार पोखरास्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा पत्रकार सम्मेलन गरेर पाहुनालाई डाकेको छ। सिरुबारीसँगै स्याङ्जा जिल्लाका अन्य गाउँहरू पनि खुला हुँदैछन्।
सम्पर्कः जुम गुरूङ
९८४६१५९३८८