‘साइकल चलाऔं, स्वस्थ रहौं- पर्यावरण जोगाऔं, आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’, भन्ने नाराका साथ झापामा ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ।
धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा फागुन १५ गते साइक्लिङ च्यालेञ्ज हुने सोमबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
क्लब र स्थानीय युवाको सक्रियतामा हुन गइरहेको प्रतियोगितामा लगभग २०० प्रतियोगी सहभागी हुने आयोजकले अपेक्षा गरेकोे छ।
साइकलयात्रा झापाको धुलाबारी बजारबाट शान्तिनगर, बहुबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारी बजार आएर समाप्त हुने आयोजकका अध्यक्ष धनराज थापाले पत्रकार सम्मेलनमा जानकारी दिए।
उक्त दूरी ४० किलोमिटरको छ। प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दोस्रोले ३० हजार, र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने सचिव रोजेश प्रसाईंले बताए।
आयोजकले चौथोलाई ३ हजार, पाँचौंलाई २ हजार र छैठौंदेखि दशौंसम्मलाई जनही १ हजार नगदसहित ट्रफी सहित पुरस्कार प्रदान गर्ने आयोजक जेनियम युवा क्लबले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न ५ लाख नौ हजार खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक बुद्ध तामाङले जानकारी दिए।
प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक छन्।
सहप्रायोजकको रूपमा टावरटेम्पल इङ्लिस बोर्डिङ हाइस्कुल विर्तामोड र विर्ता आई हस्पिटल विर्तामोड छन्।
त्यस्तै, जोइनर जुस, यमी अनलाइन फुड डेलिभरी लगायतका व्यवसायिक प्रतिष्ठान पनि प्रतियोगितामा जोडिएका छन्।
आन्तरिक पर्यटनको राम्रो सम्भावना रहेको झापामा ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ ले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीले बताएका छन्।