तनहुँको व्यास नगरपालिका-११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ।
मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो।
वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञसहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको हो।
प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र साँस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि पहिलो चरणको सर्भे सम्पन्न भएको पर्यटनविज्ञ हरिसिं गुरूङले जानकारी दिए।
मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त ट्रेक समुद्र सतहबाट ५०० मिटरको उचाइबाट सुरू हुने र एक हजार २५० मिटरको उचाइमा समाप्त हुनेछ।
सो क्रममा ट्रेकिङ रूटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्सांकन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रको छनोट गरिएको छ।
पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक र साँस्कृतिक वातावरण र स्थानीय पहिचान पनि संरक्षण होस् भन्ने हेतुले इको ट्रेकको अवधारणा अगाडि बढाइएको गुरूङले जानकारी दिए।
ट्रेक स्थापनाका लागि विगत छ महिनादेखि नै तनहुँसुरबासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्ग्यानिक खाना र साँस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ।
स्थानीयबासीमा पर्यावरणसम्बन्धी सचेतना भएमात्र इको पर्यटनका गतिविधि सफलतापूर्वक सञ्चालन हुने भएकाले सचेतना अभिवृद्धिका कार्यक्रमलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरूङले जानकारी दिए।
तीन तहका सरकार, संघसंस्था र स्थानीयबासीको सहभागितामा आगामी वैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नयाँ वर्ष २०७८ को अवसरमा रूट परिचयात्मक कार्यक्रमसमेत राखी सञ्चालनको घोषणा गरिने बताइएको छ।
रूट सञ्चालनपूर्व रूटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षारोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइन बोर्ड, सूचना पाटी राख्नेलगायतका काम गरिनेछ।
उनका अनुसार धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रूट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्नेछन्।
‘हरियाली वातावरण, ठाउँ-ठाउँमा पानीको स्रोत, साँस्कृतिक गतिविधि अवलोकन, धार्मिकस्थल, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रूट अति नै उत्कृष्ट हुनेछ’, उनले भने।
उक्त रूटमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदालाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयबासीको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको उनले बताए।
संविधानसभा सदस्य रामचन्द्र पोखरेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गरे।
छ महिनादेखि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाबीच यस क्षेत्रमा इको ट्रेकको विकास सम्बन्धमा अन्तर्क्रिया र छलफल भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले बताए। रासस