ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जीपलाइन सञ्चालनमा आएको छ।
साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएका हुन्।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दूरीमा रहेको विशंखुनारायण वनभित्र जीपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ।
एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जीपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरू जाने गरेका छन्।
जीपलाइन खेल्नका लागि फोटो/भिडिओसहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिए पनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए।
जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए। तर पनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ।
जीपलाइन खेल्न आउने पर्यटकहरू पनि साहसिक खेल खेल्न पाउँदा निकै खुसी देखिएका छन्।
उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जीपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरूको भनाइ छ।
नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आह्वान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए।
सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नबिगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जीपलाइन सञ्चालनमा ल्याइएको पनि बताए।