पवित्र भूमिमा उभिएर झलमल्ल हिमालसँग पिरती गाँस्दा ऊर्जा बढ्छ। पर्यटकका लागि ताकममा होमस्टे र होटल सुविधा छ।
म्याग्दीको पश्चिम भेकमा पर्छ ताकमकोट (२,५०० मिटर)। धौलागिरि गाउँपालिका–७ मा पर्ने कोटमा जगन्नाथ र अन्नपूर्णको मन्दिर छ। मन्दिर हाताबाट हिमाल, चारैतिरका गाउँ र नागबेली पहाड देखिन्छ। डाँडाबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथीलगायत हिमालको दर्शन पाइन्छ।
गाउँलेले आफैं चन्दा उठाएर करिब एक करोड रुपैयाँमा दुई तले मन्दिर, सत्तल र शौचालय बनाएका हुन्। मन्दिर बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले योगदान पुर्याएका हुन्। अमेरिकामा बस्दै आएका ताकमका रघुनाथ सुवेदीले झक्झक्याएपछि गाउँलेहरू मन्दिर बनाउन तम्सिए। उनै सुवेदीले अमेरिकामा, रिमप्रकाश थापाले ताकममा, खगेन्द्र थापाले अस्ट्रेलियामा र खड्गबहादुर थापाले काठमाडौंमा आर्थिक संकलनको अगुवाई गरे र सबैको सहयोगले कलात्मक मन्दिर बनाइयो।
ताकमकोट ऐतिहासिक थलो हो। इतिहासअनुसार विसं १२४६ देखि १५४५ सम्म कोटमा बसेर आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएका थिए। पछि विसं १८४२ सम्म समालवंशी मल्लले शासन गरे। विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा गाभेको थियो।
नेपाल राज्यमा विलीन हुनुअघि चौबिसे शासनकालमा थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गथ्र्यो। कोटका जगन्नाथ–अन्नपूर्णलाई गुर्जा, मुदी, चेचुङ, नेरबाङ, खिबाङ, मुना, दर, लमसुङ, लुलाङ, खोरिया, पन्थोक, जुग्जा, दाङा, कुइने, मल्कबाङ, मलम्पार, मराङ, बिम, दुखु, दरबाङ, निस्कोट, च्युरीबोट, मगरदाङ, घर्तिथोक, लाममेला, तमान, बोङखानी, धारापानी र ताकम गाउँले शक्तिपीठ मान्छन्।
मन्दिरसँगै पुरानो भवनमा प्राचीन हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको छ। बाहिर खुला आकाशमुनि ओदान छ।
मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्रबहादुर थापाकाअनुसार विसं २०७२ वैशाख १२ को भूकम्पले मन्दिर जीर्ण बनेपछि नयाँ मन्दिर बनाइएको हो। यहाँ विशेषतः बडा दसैं र शनिबार तथा मंगलबार भिड लाग्छ।
कोट मुन्तिर सुन्दर ताकम गाउँ छ। त्यहाँ ३३५ धुरी छन् जहाँ मगर, छन्त्याल, क्षत्री, बाहुन, गुरुङ, थकाली, गिरी, दमाई, कार्मी र सार्कीको बसोबास छ।
धान, मकै, कोदो र आलु ताकमको मुख्य उत्पादन। सागसब्जी राम्रो फल्छ। घरघरै जस्तो बाख्रा, कुखुरा र भैंसी पालिएको छ। त्यसैले दूध, दही, मोही र घ्यू पाइन्छ।
ताकम विभिन्न पदमार्गको प्रवेशद्वार पनि हो। यहाँबाट ढोरपाटन शिकार आरक्ष, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा र गुरिल्ला पदमार्गमा यात्रा गरिन्छ।
ताकम गाउँमा खाना र बासका लागि आधा दर्जन होटल र केही घरमा होमस्टे सुविधा पनि छ।
ताकम पवित्र भूमि। त्यहाँ उभिँदा मनमा आध्यात्मिक भावना जाग्छ भने झलमल्ल हिमालसँग पिरती गाँस्दा ऊर्जा बढ्छ। त्यसैले जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो ताकम।
कसरी पुग्नेः
काठमाडौं–पोखरा–बेनी २८८ किमि, बसमा ९ घन्टा। बेनीबाट पश्चिम ३२ किमिमा ताकम गाउँ। ताकम गाउँबाट ३ किमिमा ताकमकोट। बेनी बजारबाट मुना गाउँका लागि बस छुट्छन्, बसमा ४ घन्टा। ताकममा बसबाट ओर्लेर करिब १ घन्टा हिँडे कोटमा पुगिन्छ।
सम्पर्कः ९८६४३७२८४०, कृष्ण भण्डारी, अध्यक्ष, सामुदायिक होमस्टे
लाहुरेको उदाहरणीय कर्म धारापानी गाउँका समाजसेवी तेजिन्द्र बहादुर थापा आउँदो स्थानीय चुनावमा धौलागिरि गाउँपालिकाको नेतृत्व लिन गृहकार्यमा जुटेका छन्।
ताकमकोटको मन्दिर बनाउनुका साथै विभिन्न सामाजिक काममा खटिँदै आएका अगुवा हुन्–तेजिन्द्रबहादुर थापा। भारतीय सेनाबाट निवृत्त भएपछि उनले गाउँको मुहार फर्ने काम गरिरहेका छन्।
२८ मंसिर २०७५ मा कोट मन्दिर शिलान्यास गरिएको थियो। मन्दिर निर्माणमा एक करोड रुपैयाँ भन्दा बढी खर्च भैसक्यो। खर्च हुनेक्रम जारी छ।
१२ वैशाखको भुकम्पले क्षतिग्रस्त मन्दिर पुननिर्माण गर्न अमेरिकामा बस्ने रघुनाथ सुवेदीले ११ लाख रुपैयाँ उठाइसकेका थिए। ‘अब हामी पनि जुट्नुपर्छ भनेर समिति बनाएर मन्दिर बनाउन लाग्यौं’, थापा सुनाउँछन्, ‘मन्दिर बनाउँदा आत्मसन्तुष्टि मिलेको छ।’
ताकम मुन्तिर धारापानीमा जन्मेहुर्केका तेजिन्द्रले १९ वर्षकै उमेरमा कोट क्षेत्रमा छेलो जितेका थिए। खासमा उनी विसं २०३५ सालमा भारतीय सेनामा भर्ती भएर २४ वर्ष जागिर खाए। सन् २००३ मा रिटायर्ड भएपछि वर्ष दिन नेपालमा बसे। लगत्तै मकाउ पुगेर ४ वर्ष काम गरे। अनि केही समयपछि बहराइन पुगे। मकाउ र बहराइनमा बस्दा उनले गैरआवासिय म्याग्देलीको संस्था मोना र म्याग्दी उद्धार समिति लगायतमा बसेर सामाजिक काम गरे।
पछि नेपाल फर्केर सामाजिक काममा अग्रसर छन्। ६० वर्षे थापा गाउँ उज्यालो बनाउने अभियानमा होमिएका थापा सक्रिय राजनीति मार्फत् मुहार फेर्ने योजनामा छन्। शुभेच्छुकहरूले उनलाई आग्रह गरिरहेका छन्। त्यसैले आउँदो स्थानीय चुनावमा धौलागिरि गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन गृहकार्य गरिरहेका छन्।
केही हेर्नुहोस् तस्बिरहरू