धादिङ जिल्लाको उत्तरी भागमा अवस्थित पर्यटकीयस्थल रूबिभ्याली। रूबिभ्याली जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ। हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत रूबिभ्यालीका विशेषता हुन् ।
बागमती प्रदेशको विकट पहाडी भूभागमा पर्ने रूबिभ्यालीमा आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय स्तरबाट विभिन्न पर्यटन प्रवर्द्धन गर्ने कामहरु भईरहेका छन्।
रूबिभ्यालीको सिमालाई धादिङ जिल्लाकै खनियाबास गाउँपालिका, गोरखा, नुवाकोट र रसुवा जिल्लासँगै छिमेकी राष्ट्र चीनले पनि छोएको छ । साविक सेर्तुङ, तिप्लिङ र लापा गाविसबाट रुबिभ्याली गाउँपालिका बनाईएको हो।
रूबिभ्यालीमा सुनदेखि नुनसम्म पाईने भनाई रहेको छ, यस क्षेत्रमा बहुमुल्य खनिज क्रिस्टल, रूबि पाईनेगर्छ।
यहाँ विशेषगरी गणेश हिमाल, प्यल्दोरपिक हिमाल, पाङसाङ पास, सिङला माने, कालो दह/सेतो दह, गणेश कुण्ड, दुध कुण्ड, तातोपानी कुण्ड, दुर्लभ वन्यजन्तुहरु, विभिन्न जडिबुटीहरु र हिमाली मनोरम दृष्य लगायत स्थानीय परम्परागत कलासंस्कृति अवलोकन गर्न सकिन्छ ।
रूबिभ्यालीमा विशेषगरी तामाङ र गुरुङ जातिहरुको बसोबास रहेको छ। यहाँको स्थानीय भाषा, पहिरन, कला, संस्कृतिले मनै लोभ्याउने गर्छ।
रुबिभ्याली जान चाहनेले सस्तो र सुलभ तरिकाले घुम्न सक्नेछन्। रुबिभ्याली जान धादिङबेंशीबाट दामन पाख्रिन मार्ग हुँदै सवारी र पदयात्रा दुवै गर्न सकिन्छ। रसुवा जिल्लाको स्याब्रुवेंशीहुँदै सोमदाङबाट सवारी र पदयात्रा पनि गर्न सकिन्छ। त्यस्तै नुवाकोट जिल्लाको भाल्चेबाट रुपचेत हुँदै सिङलापास गरि रुबिभ्याली पुग्न सकिन्छ। साथै रुबिभ्याली गोरखाबाट पनि पुग्न सकिन्छ।
हेर्नुहोस् तस्बिरहरू